कोशी सरकार विस्तार हुँदै, आन्तरिक मामिलामा भण्डारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्ने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो ।

मुख्यमन्त्री कार्कीले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला मन्त्री बनाउने भएका छन् ।

तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारी मानब तस्करीमा जोडिएर राजीनामा दिएपछि सो मन्त्रालय खाली रहेको थियो । कानुनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानुनी पृष्ठभूमि भएकै भण्डारी मन्त्री हुन लागेका हुन् ।

भण्डारीको सपथ अहिले ५ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको स्रोतले जनाएको छ । सुनसरीबाट प्रदेशसभामा निर्वाचित भण्डारी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।

कोशी सरकारमा नेपाली काँग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय पनि खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले हेर्दै आएका छन् । काँग्रेसको आन्तरिक किचलोको कारण सो मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन नसकेको हो ।

काँग्रेसले स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहको लागि छुट्याएको छ । तर, कोइराला समूहले २ मन्त्रालय दिनुपर्ने माग गर्दै मन्त्रीको नाम नदिएकोले सरकार विस्तार हुन नसकेको हो ।

सोमबार, १७ मंसिर, २०८१, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर