भारतमा सस्तो दूध नेपालमा किन महँगो ?

विराटनगर ।भारतमा अहिले पनि कच्चा दूधको औसत बिक्री मूल्य प्रतिलिटर ५२.५० भारतीय रुपैयाँ (नेपाली ८४ रुपैयाँ) रहेको छ । नेपालमा भने दुग्ध वितरण आयोजना (डिडिसी)ले ९२ देखि ९७ रुपैयाँसम्म कायम गरेको छ । यस्तै निजी डेरी उद्योगहरुले भने बिक्री मूल्य ९० रुपैयाँ बनाएका छन् ।

किसानलाई भुक्तानी दिँदा भने डिडिसीले ४ फ्याट र ८ एसएनएफको दूधको प्रतिलिटर मूल्य ६५ रुपैयाँ दिएको छ भने इटहरीको कामधेनु दुग्ध सहकारीले सोही मापदण्डको दूधलाई प्रतिलिटर ६० रुपैयाँ मात्रै भुक्तानी दिइरहेको छ । कोशीका ठूला ११ वटा डेरी उद्योगले भने सोही मापदण्डको दूधको खरिद मूल्य ५८ देखि ६० रुपैयाँसम्म दिने गरेका छन् । किसानले पाउने दूधको मूल्य कम भएको भनेर अहिले पनि किसानहरुको गुनासो हुने गरेको छ ।

यस्तै भारतबाट पाउडर दूध आयात गर्दा सस्तोमा आउने र नेपालका उद्योग नै धरासायी बन्ने तर्क पनि छ । भारतबाट नेपालमा आइपुग्दा पाउडर दूधको मूल्य प्रतिकेजी ४४० रुपैयाँसम्म लागत पर्ने इटहरी तरहराको कामधेनु दुग्ध सहकारीका अध्यक्ष यादव ढकाल बताउँछन् । नेपालमा भने त्यही गुणस्तरको पाउडर दूध उत्पादन लागत नै ५८० रुपैयाँ पर्छ । बिक्री मूल्य भने नेपालको पाउडर दूधको ६६० रुपैयाँ रहेको छ ।

नेपालमा दूधको मूल्य बढी किन हुन्छ ? औसत लागत मूल्य कति हो ? यो विषयमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले गरेको दुध उत्पादन सम्बन्धी अध्ययन सर्वेक्षण प्रतिवेदनले प्रष्ट पारेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा औसत प्रतिलिटर दूध उत्पादन लागत ४६.५७ रुपैयाँ रहेको छ । अध्ययन गरिएको जिल्ला अनुसार धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीको क्रमशः रु.४९.५३, रु.४६.२४, रु.४५.५०, रु.४५.९८ र रु.४७.७१ प्रति लिटर रहेको पाइएको छ । ‘छानिएका जिल्लाहरूको औसत दूध उत्पादनको खर्च र आम्दानीको अनुपात १ः१.४ देखिएको छ । कोशी प्रदेशमा दूध उत्पादनको खर्च आम्दानी अनुपात वृद्धि गर्नका लागि व्यवसायिक घाँस खेति, उच्च नश्लको पशुपालन, खोपको व्यवस्था, रोग निदान सेवा आदि सुधार गरी बजारमा दूधको उचित मूल्य व्यवस्थापन गर्नु पर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै विराटनगर–१२ मा रहेको बञ्जरा एग्रोले दिएको तथ्याङ्क अनुसार उसको फार्मबाट उत्पादित दूधको मूल्य प्रतिलिटर ३८ रुपैयाँ रहेको छ । उक्त लागत एउटा गाईले प्रतिदिन २० लिटर दूध दिएको अवस्थामा हो । २० लिटर भन्दा बढी दूध दिने गाई भए लागत अझै घट्ने र २० लिटर भन्दा कम दिए लागत बढ्ने उक्त एग्रोले जानकारी दिएको छ । ‘हामीले यो लागत आफैंले आहारा उत्पादन गरेको आधारमा निकालेका हौं,’ उक्त एग्रोका व्यवस्थापक सञ्जय चापागाईं भन्छन्, ‘बाहिरबाट किनेर आहारा व्यवस्थापन गर्ने हो भने लागत बढ्छ ।’

नेपालमा मूल्य बढी भारतमा कसरी सस्तो ?

नेपालमा दूध उत्पादन गर्दा लागत मूल्य नै महँगो पर्ने सो क्षेत्रका जानकारहरु बताउँछन् । ‘भारतमा दाना सस्तो र गुणस्तर हुन्छ । २८ प्रतिशत प्रोटिन भएको दाना हुनुपर्नेमा २०–२१ प्रतिशत प्रोटिन भएको दाना मात्रै हामीले पाएका छौं,’ बञ्जरा एग्रोका व्यवस्थापक चापागाईं भन्छन्, ‘त्यसो हुँदा ५० लिटर दूध दिनसक्ने गाईले ३५ लिटरमात्रै दिन्छ । १५ लिटर लस भयो । यस्तै कटन सिड (कपासको दाना) प्रोटिनको स्रोत हो । त्यो नेपालमा छैन । गाईको दूध दिने क्षमता विकासको लागि त्यसलाई दिइन्छ । हामीले त्यो भारतबाट ल्याउँदा ढुवानी खर्च, भन्सार खर्च लाग्छ । यस्तै हामीले भटमासको पिना पनि ल्याउनु पर्छ । यहाँ पाइने भनेको मकै र तोरीको पिना मात्र हो ।’

यस्तै यहाँका दाना उद्योगहरुले एउटा, दुईवटा गाई पाल्ने किसानलाई लक्षित गरेर दाना उत्पादन गर्छन् । त्यो भनेको १०–१५ लिटर दूध दिने गाईको लागि मात्रै हो ।अर्को भनेको साइलेज उतपादनमा पनि हाम्रो देशमा समस्या छ । ‘साइलेज उत्पादन गर्ने हाइब्रिड मकैको बिउसमेत नेपालमा छैन । एक कठ्ठामा मोटामोटी २५ सयदेखि ३ हजार केजी मकै फल्नुपर्छ । नेपालमा १ कठ्ठामा १५ सय केजी मात्रै मकै उत्पादन हुँदा घाटा भयो,’ चापागाईं भन्छन् । भारतमा साइलेज ४–५ रुपैयाँ प्रतिकिलो छ । नेपालमा त्यही गुणस्तरको साइलेज १६–१७ रुपैयाँ प्रतिकिलो पर्ने चापागाईं बताउँछन् ।

नेपालको दूध महँगो हुनु भनेको भ्याट लाग्नु पनि एक कारण भएको कामधेनू दुग्ध सहकारीका अध्यक्ष ढकाल बताउँछन् । ‘सरकारले दुग्धजन्य वस्तुमा भ्याट लाग्दैन भन्छ । तर, दूधको पाउडर बनाउँदा पनि भ्याट लाग्यो । घिउ राखेको कोल्डरूमको पनि भ्याट लाग्यो । पाउडर र घिउ बेच्दा पनि भ्याट लाग्छ । त्यसले उत्पादन लागत बढ्यो । नेपाल सरकारले १३ प्रतिशत भ्याट लगाउने सिस्टम हटाउनु पर्छ,’ उनले भने ।

लागत बढ्नुको दोस्रो कारण नेपालमा गाईको नश्लसुधार नहुनु, तेस्रोमा आहारा व्यवस्थापन राम्रो नहुनु र चौथोमा साइलेज खुवाउन नसकेर पराल खुवाउँनु भएको उनले बताए । ‘त्यसकारण हामी भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ ढकालले भने । उनले आयातलाई पूरै प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिए ।

बुधबार, १९ मंसिर, २०८१, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर