विराटनगर किङ्ग्स्लाई पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा विवादमा

व्यापारीको कम्पनीलाई पोस्ने प्रयास : क्रिकेट संघ

विराटनगर । मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेमा विराटनगर किङ्सलाई ३० लाख रुपैयाँ दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घोषणा विवादमा परेको छ ।

किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले विजेता बनेमा प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।क्रिकेट संघ र खेलकुद क्षेत्रका व्यक्तिहरुले प्रदेश सरकारले पहुँचवाला व्यापारीले खोलेको निजी कम्पनीलाई पोस्नेगरी राज्यकोषबाट रकम दिने घोषणा गरेको भन्दै आपत्ती जनाएका छन् । विराटनगरका व्यवसायी पारस लुनियासहितका व्यवसायीको स्वामित्वमा रहेको एमएडी ड्रिम्स स्पोर्ट्स मातहको विराटनगर किङ्ग्स एनपिएल खेल्ने ८ टिममध्येको एउटा हो । नेपाल क्रिकेट संघले टेण्डरको बोलकबोलमार्फत एनपिएलको फ्रेन्चाइज वितरण गरेको हो ।

प्रदेशको खेलकुदको विकासको लागि सहयोग माग्दा वास्ता नगर्ने प्रदेश सरकारले उद्योगीहरुको निजी कम्पनीलाई ३० लाख रुपैयाँ दिने घोषणा गलत भएको कोशी क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले बताए । ‘मुख्यमन्त्री कार्कीले टुर्नामेन्टको विषयलाई नबुझी यस्तो घोषणा गरेको जस्तो लाग्यो’ उनले भने, ‘कुन हिसाबको क्रिकेट हो । त्यो कुरा मुख्यमन्त्रीले बुझ्नु भएन । उहाँको घोषणा गलत छ ।’

एनपिएल व्यवसायिक खेल भएको भन्दै पाण्डेले विराटनगर किङ्ग्ससँग कोशी प्रदेशको क्रिकेटको कुनै साइनो नभएको बताए । बरु कोशी प्रदेशका उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई प्रतियोगितामा समावेश नगरी व्यापारीले बनाएको क्लबलाई पुरस्कार दिने घोषणाले आफूहरुको चित्त दुखाएको उनको भनाइ छ ।

विराटनगर किङ्ग्सको एकातिर प्रदेशको टिम हैन भने, अर्कोतिर कोशी प्रदेश घर भएर राष्ट्रिय क्रिकेट खेलिरहेका खेलाडीलाई टिममा ल्याउने प्रयास पनि नगरेको भन्दै प्रदेशका खेल क्षेत्रका व्यक्तिहरु असन्तुष्ट छन् । ‘कोशीको शान, हाम्रो पहिचान’ नारा बनाएको विराटनगर किङ्ग्सले अक्सनमा कोशी प्रदेश घर भएर क्रिकेट खेल्ने खेलाडीलाई बोली लगाएको थिएन ।

कोशी प्रदेश घर भएका ललित राजवंशी र दिपेश कँडेल यु–१९ विश्वकप खेलिसकेका खेलाडी हुन् । यस्तै राष्ट्रिय टिममा रहेका कमल खत्री, सुजन थपलिया, अंकित सुवेदी, फिर्दोस अन्सारी, श्रवण यादव पनि कोशी प्रदेशका खेलाडी हुन् । उनीहरु कोशी पनि विराटनगर किंग्समा छैनन् । किनकि उनीहरुको लागि अक्सनमा विराटनगर किंग्सले बोली नै लगाएको थिएन ।

प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रको विकासमा योगदान गर्नुपर्नेमा विनासन्दर्भ व्यवसायीक कम्पनीलाई पुरस्कार दिने घोषणा गरेकोले आफूहरु आश्चार्यमा परेको पाण्डे बताउँछन् । ‘सरकारले खेलाडीहरुको उत्पादन र विकासको लागि काम गर्ने संघ संस्थाहरुलाई गर्नुपर्नेमा गरेको छैन’ उनले भने, ‘सरकारबाट सहयोग नपाएको कारण प्रदेशमा खेलाडीको विकासको गर्नुपर्ने कतिपय प्रतियोगिता गर्न नसकेको अवस्थामा निजी कम्पनीलाई पोस्ने निर्णय फिर्ता हुनुपर्छ ।’

आफूहरुले प्रदेशमा गर्ने क्रिकेट प्रतियोगिताको लागि प्रदेश खेलकुद विकास बोर्डदेखि प्रदेश सरकारसम्म हारगुहार गर्दा पनि सहयोग पाउन नसकेको पाण्डेले बताए । राष्ट्रिय स्तरको प्रधानमन्त्री कपमा छनौट भएका खेलाडीहरुलाई बजेट अभाबमा इलाइट ट्रफी दिन क्रिकेट संघले नसकेको जानकारी दिँदै उनले प्रतियोगिता गर्न बजेट माग्दा पनि सरकारले न दिएको गुनासो गरे ।

विराटनगरमा सम्पन्न भएको अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि संघले प्रदेश सरकारलाई सहयोगको लागि आग्रह गर्दा सहयोग नपाएको क्रिकेट संघले जनाएको छ । ‘हामीले क्रिकेट क्षेत्र र खेलडीको विकासको लागि बजेट माग्दा सरकारले दिँदैन,’ पाण्डेले आक्रोश पोखे, ‘केही पहुँचवाला धनाढ्य व्यापारीको व्यवसायिक क्लबलाई भने बजेट दिने घोषणा गर्छ ।’

व्यवसायीक कम्पनीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा गलत भएको धारणा क्रिकेट संघ मोरङका अध्यक्ष महमद साद (बाबु) को पनि छ । ‘क्रिकेट क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनको संघले प्रदेशस्तरीय प्रतियोगिता गर्दा आवश्यक सहयोग पाइन्न’ उनले गुनासो गरे, ‘गत चैतमा अन्तरप्रदेश क्रिकेट प्रतियोगिता गर्दा प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट दिने भनेकोमा २० लाख रुपैयाँ मात्रै दियो । जसले गर्दा प्रतियोगिता सम्पन्न गर्दा लागेको खर्चको भुक्तानी दिन सकिएको छैन ।’

एनपिएल प्रदेशस्तरीय प्रतियोगिता नभएको कुरा मुख्यमन्त्रीले नै नबुझेको अध्यक्ष साद (बाबु)ले बताए । विराटनगर किङ्ग्सलाई रकम दिनु जनताको करको चरम दुरुपयोग हुने उनको भनाइ छ । ‘निजी कम्पनीलाई पोस्नेगरी सरकारले घोषणा गरेको पुरस्कार तत्काल राक्नुपर्छ’ उनले भने, ‘क्रिकेट क्षेत्रको विकासको लागि ‘ए’ डिभिजनका टिम ल्याएर क्रिकेट प्रतियोगिता गर्ने तयारी गर्दा सरकारले सहयोग गर्न चाहेन । अहिले निजी कम्पनीलाई भने पुरस्कार कसरी भन्न सकेको ?’

नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । प्रतियोगिताको लागि सबै क्लबले अक्सनबाट स्वदेशी तथा विदेशी खेलाडी किनेका छन् ।

विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा विदेशी नागरिक केभिन ओ ब्रायन रहेका छन् भने मार्की खेलाडी सन्दिप लामिछाने छन् ।

शुक्रबार, १४ मंसिर, २०८१, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर