कोशीमा योगेश भट्टराईनिकट एमाले नेतामाथि कार्वाही

संस्थापन पक्षको निर्णयविरुद्ध उभिएका ताप्लेजुङका बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित

विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिको बैठकले ताप्लेजुङका एमाले नेता बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई निलम्बन गरेको छ ।

गत वैशाख १८ गते राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनबाट संस्थापन पक्षले एकलौटी कमिटी गठन गरेको विरोध गरेपछि साम्सोहाङ र पोमुलाई कार्वाही गरिएको हो ।

एमालेको प्रदेश समितिको मंगलबार सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । ‘ताप्लेजुङ कमिटीले दिएको राय सुझावको आधारमा दुई जनाले बढ्तै गरे भनेर हामीले निलम्बन गरेका छौं । थप बुझ्न समिति बनाएका छौं,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘जसमा पूर्व जिल्ला अध्यक्ष एवं पूर्वसांसद बलबहादुर साम्सोहाङ र प्रदेशको पर्यटन विभागको सचिव मणिशंकर पोमुखलाई रहनु भएको छ ।’

कारबाहीमा परेका नेता बलबहादुर साम्सोहाङले आफूले पनि सो निर्णयबारे जानकारी पाएको बताए । युवा संघको जिल्ला अधिवेशनमा एकलौटी घोषणाको विरोध गरेको कारण आफूलाई कारबाही गरेको जानकारीमा आएको उनले बताए । ‘एमालेभित्र पनि टिमहरु छ । त्यसलाई मिलाएर लानुपर्छ भनेका थियौं,’ उनले भने, ‘त्यसपछि हामीले अलिक विरोध गर्यौं । त्यही कारण कारबाही भएको होला ।’

पार्टीले गरेको कारबाहीको विषयमा अब के गर्ने भनेर आफूले केही नसोचेको पनि उनले बताए । ‘अहिले खासै केही योजना बनाएको छैन,’ साम्सोहाङले भने, ‘अब हेर्दै जाऔं के हुन्छ ।’

युवा संघको जिल्ला अधिवेशनबाट भने संस्थापन पक्षले मानिक तुम्बाहाम्फेलाई अध्यक्षमा घोषणा गरेर अगाडि बढेको थियो । केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा गत बिहीबार उदटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोज्दा भने विवाद भएको थियो ।

अधिवेशन भने ताप्लेजुङ एमालेको पार्टी कार्यालय फुङलिङमै भएको थियो । विवाद भएपछि अधिवेशनस्थलमा टेबल, कुर्सी र माइकमा पनि तोडफोड भएको थियो ।

साम्सोहाङ पक्षधरले भने सहमतिमा कमिटी चयन गर्दा आफूहरूले सचिव पाउनुपर्ने माग गरेका थिए । तर, अध्यक्ष मण्डलले मानिकको नेतृत्वमा एकपक्षीय नाम घोषणा गरेको थियो । त्यसपछि त्यहाँ कुटाकुटसमेत भएको बताइन्छ ।

ताप्लेजुङ एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला हो । कार्वाहीमा पर्ने नेताहरु उनी निकट हुन् । तत्कालीन एमालेमा माधबकुमार नेपाल पक्षधर उनीहरु १० बुँदे सहमतिसँगै एमालेमै बसेका थिए । युवा संघको अधिवेशनमा भने योगेश सहभागी थिएनन् ।

एमाले प्रदेश कमिटि बैठकले इटहरीमा भएको सभा, दमकमा भएको सभा र काठमाडौंमा भएको कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ । यस्तै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा र लगानी सम्मेलनलाई शुभकामनासहित धन्यवाद दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।

बुधबार, २४ बैशाख, २०८२, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर