अखिल मोरङमा लफडा, नेताका छोराछोरी व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाइयो

विराटनगर । नेकपा एमालेनिकट अनेरास्ववियु मोरङ जिल्ला कमिटीले केन्द्रको निर्णय उल्लङ्घन गर्दै पदाधिकारीमा ११ जना चयन गरेको छ । खासगरी नेताका छोराछोरीलाई व्यवस्थापन गर्न मोरङमा पदाधिकारीको संख्या बढाइएको असन्तुष्ट पक्षको दाबी छ ।

शनिबार एमाले मोरङको पार्टी कार्यालय, विराटनगरमा बृहत विद्यार्थी भेला गरिएको थियो । भेलाबाट विरेन्द्र घिमिरेको अध्यक्षतामा ११ जना पदाधिकारी घोषणा गरिएको छ । जसको उपाध्यक्षमा नवीन पहाडी, संगम कन्दङ्वा, एलिस ओझा र सागर थापा छन् । सचिवमा मनोज कार्की, सहसचिवमा गौरी बस्नेत, विप्लव पोखरेल र प्रिति दाहाल छन् भने कोषाध्यक्षमा प्रविण खतिवडा चयन भएका छन् । यसैगरी कार्यालय सचिवमा छवि श्रेष्ठ चयन भएका छन् ।

यसअघि अनेरास्ववियुमा कार्यालय सचिवको पद थिएन । तर, मोरङमा भने आफू निकट कार्यकर्ताको व्यवस्थापन गर्न हुँदै नभएको पद खडा गरिएको हो । अनेरास्ववियु स्रोतका अनुसार खासगरी एलिस ओझा र गौरी बस्नेतलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या थप गरिएको हो । बस्नेत कोशी प्रदेशसभा सदस्य खड्ग बस्नेतकी छोरी हुन् भने ओझा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनमा अध्यक्षमा उठेर पराजित बनेका राजकुमार ओझाका छोरी हुन् । एलिस सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत हुन् ।

कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जिबी गजलले नयाँ कमिटीको नाम घोषणा गरेका थिए । उनले नेकपा एमालेले जनवर्गीय संगठनमा पदाधिकारीको संख्या घटाएर ९ जनाको बनाउन गरेको निर्णयविरुद्ध नामावली घोषणा गरेको भन्दै विरोध भएको थियो ।
गत फागुन १८ गते एमालेको सचिवालय बैठकले जनसंगठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका गरी पदाधिकारीको संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको थियो । अनेरास्ववियुका एक सदस्यले नेताहरूले आफुनिकटका व्यक्तिलाई पदाधिकारी बनाउन र नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जनाको पदाधिकारी बनाएको आरोप लगाएका छन् । ती सदस्यले भने, ‘संगठनमा पछिल्लो समय म भन्ने पात्र हावी हुन थालेको छ । बाहिर जिल्लाबाट आएका नेताहरूले हस्तक्षेप गर्दा भोलिका दिनमा नतिजा फरक हुन सक्छ ।’

प्रदेश अध्यक्षले विधानसम्मत कमिटी घोषणा नगरेको भन्दै केही सदस्यहरुले प्रश्न उठाएका थिए । जवाफमा गजलले कहिलेकाहीँ कार्यकर्ताको व्यवस्थापन गर्दा विधान उल्लङ्घन पनि गर्नुपर्ने अवस्था आउने बताएका छन् । अनेरास्ववियु मोरङका उपाध्यक्ष नवीन पहाडीले अमुख व्यक्तिका लागि संगठनका नेतालाईले पार्टीले गरेको निर्णय उल्लङ्घन गर्ने काम भएको भन्दै असन्तोष व्यक्त गरे । ‘जिल्ला बाहिरका नेताहरुको हुल बोलाएर आफूखुसी कमिटी घोषणा गर्ने काम भएको छ,’ उपाध्यक्ष पहाडीले भने, ‘संगठनलाई नेताहरुले आफ्ना मान्छे व्यवस्थापन गर्ने थलोका रुपमा स्थापित गर्न खोज्दैछन्, जुन सांगठनिक हिसाबले दुर्भाग्यपूर्ण छ ।’ तल्लो तहबाट काम गरेर आएका असल कार्यकर्तालाई बाइपास गर्ने काम भएको उनको भनाइ छ । नयाँ कमिटी घोषणाप्रति असन्तुष्टि व्यक्त गर्दै केही जिल्ला सदस्यहरुले शपथग्रहणसमेत बहिष्कार गरेका थिए ।

शनिबार, २७ बैशाख, २०८२, रातीको ०९:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर