विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ ।
अञ्जलासहितलाई धरौटीमा छाड्ने मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यायले दिएको ७२ नम्बरको निवेदनको सुनुवाईमा दुई न्यायाधीशको राय बाझिएको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद वास्तोलाको इजलासले वैशाख ११ गते गरेको आदेश बाझिएपछि अब तेस्रो न्यायाधीशको इजलासमा सो निवेदनको सुनुवाइ हुने भएको छ । निवेदनको सुनुवाईपछि न्यायधीश पुडासैनीले जिल्लाकै आदेश सदर गर्ने राय दिएकोमा अर्का न्यायाधीश केशवप्रसाद बाँस्तोलाले प्रतिवादीमध्येका अञ्जला कोइराला, रोशन राजवंशी, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा जिल्लाको आदेश उल्ट्याउँदै जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग्नुपर्ने राय दिएका थिए ।
प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेगरी जिल्ला अदालतबाट भएको आदेश सदर गर्ने रायमा सहमति जनाउँदै सञ्चालक समितिको सदस्य तथा पदाधिकारीको रुपमा कार्य गर्ने प्रतिवादीहरुको कसुरमा हुनसक्ने संलग्नतालाई बिचार गरी जिल्ला अदालतबाट एकरुपको आदेश भएको नदेखिएको बाँस्तोलाको ठहर छ । प्रतिवादीमध्येका रोशन राजवंशी, अंजला कोईराला, ज्योति बाँस्कोटा र सन्तलाल खवासको हकमा अभियोगपत्रमा उल्लेखित बिगो समेतलाई बिचार गरी जनही धरौटी बढाउनुपर्ने उनको राय छ ।
जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतीलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्लासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा निवेदन दिएको छ ।
मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।
गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अन्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि विराटनगरको महेन्द्र रात्रि माविमा पढाउने अञ्जला विद्यालयमा विदा लिएर फरार भएकी थिइन् । फरार भएको तीन सातापछि पुस २४ गते बिहान अदालतमा उपस्थित भएकी थिइन् ।
सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भू प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य धरौटिमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए। शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।