विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् ।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतलाई साथैमा लिएर काठमाडौं पुगेका कोइरालाले बुधबार मन्त्री सिंहलाई भेटेका हुन् ।
ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको मेयर कोइरालाले बताएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताएका थिए ।
भेटमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो ।
राजनीतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने बताउँदै सिंहले मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको उल्लेख गरेको मेयर कोइरालाको भनाइ छ । दातृ निकासहरुसित मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता मन्त्री सिंहले जनाएको उनले जानकारी दिए ।