विराटनगर । नेकपा एमालेकी नेतृ प्रतिनिधि सभा भगवती चौधरीको विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
सुनसरीको गढी गाउँपालिका ६ मा मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता विपरित मध्यरातमा मतदाता प्रभावित पार्न खोजेको भन्दै उजुरी परेको हो ।
नेकपा एमालेको उम्मेदवार सन्तु उरावँको पक्षमा निर्वाचन आचार संहिताविपरित चौधरीले मतदाता प्रभावित बनाउन खोजेको आरोप छ । नेकपा माओवादी केन्द्र गढी गाउँपालिका संयोजक राजाराम यादवले सांसद चौधरीसहित गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिताकुमारी साह र प्रदेशसभा सदस्य रामदेव यादव सहित ६ जनाले निर्वाचन आचार संहिता विपरित गतिनिधि गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
फोटो र भिडियोसहितको प्रमाण राखेर उजुरी गरेको यादवले बताए । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले उजुरीको विषयमा जानकारी आएको भएपनि आफू गढीबाहिर रहेकोले डिटेलमा बुझ्न नपाएको बताए । जनप्रतिनिधिले आचारसंहिता विपरित निर्वाचन प्रभावित पार्ने गतिबिधि गर्न नपाउने आयोगले जनाएको छ ।
एमाले नेतृ चौधरीले भने गढी गाउँपालिका ६ भवानीपुर हुँदै घर फर्किने क्रममा राति भएको र त्यसमा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारसहित समर्थकहरुले विरोध गरेको दावी गरेकी छन् । आफूहरुको नियत भने निर्वाचन आचारसंहिता विपरितका काम गर्ने नभएको उनको भनाइ छ ।
स्थानीय प्रभु अरगरियाले भने निर्वाचन आचार संहिता विपरित चौधरीले रातिराति आएर ट्युबेल दिने, घर बनाउन सहयोग गर्ने र बाख्रा दिनेलगायतका प्रलोभन दिने गरेको बताए । विपन्न वर्गका मतदातालाई प्रलोभन दिएर मत किन्ने प्रयास भएको उनको भनाइ छ ।
मंसिर १६ गते उपनिर्वाचनमा सो वडामा १२ जना उम्मेदवार मैदानमा छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द झाँगडको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
वडामा नेपाली काँग्रेसले तेतर साह, नेकपा माओवादी केन्द्रले कुशेश्वर खेरबार यादव, जनमत पार्टीले जगनारायण यादवलाई उम्मेदवार बनाएको छ ।