सहकारीमा उदाहरणीय ‘एनएमसी’

३० वर्षमा २ लाख ५३ हजार शेयर पूँजीबाट बढेर १ अर्ब ४७ करोड, २६ सदस्यबाट १ लाख ७० हजार सदस्य ।

विराटनगर । २०५० साल फागुन २४ गते २६ जना मिलेर स्थापना भएको झापाको काँकड्भिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अहिले विशाल बनेको छ । २ लाख ५३ हजार शेयर पुँजी जम्मा गरेर स्थापित सहकारीको अहिले १ लाख ७० हजार बढि सदस्य छन् भने शेयर पुँजी १ अर्ब ४७ करोड ३६ लाख पुगेको छ ।

तत्कालिन काँकडभिट्टा गाविस कार्यक्षेत्र बनाएर स्थापितत भएको एनएमसी अहिले झापा, इलाम र मोरङसम्म फैलिएको छ । एनएमसीले बचत तथा ऋण व्यवसायका साथै डेरी व्यवसाय, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया प्रशोधन व्यवसाय पनि सञ्चालन गरेको छ ।सहकारीले पहिलो पटक एटिएम सेवा सुरु गरेर नेपालमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने सहकारी संस्था पनि बनेको छ । एनएमसीले मेचीनगर–८ काँकडभिट्टामा २०७२ सालमा २० करोडभन्दा बढिको लगानीमा डेरी उद्योग खोलेर सञ्चालन गरिरहेको छ । उद्योगमा दैनिक सरदर १७ हजार लिटर दूध संकलन हुन्छ ।

डेरीस्मा प्रत्यक्षरुपमा ६ हजार ५ सय कृषक आबद्ध छन् । दुग्ध उत्पादक संस्थाका किसानहरुबाट दुध संलकन र प्रशोधन गरी दुध, पनिर, दही, ध्यू, आइसव्रिmम जस्ता दुग्धजन्य उत्पादनहरु संस्थाको आफ्नै नामबाट ब्रान्डिङ गरी बजारीकरण र बिक्री वितरण गर्दै आएको छ ।२०७५ माघमा मेचीनगर १४ दुहागढीमा वि.सं. २०७५ माघ १९ गते एनएमसी एग्रो स्थापना गरियो । २० करोड लगानीमा १६ बिगाहा जग्गा खरिद गरेर स्थापना गरिएको फर्ममा गाईपालन, कष्टम हायरिङ सेवा, माछापालन, बेर्ना बैंक, साइलेज तथा बेल साइलेज उत्पादन, तरकारी उत्पादन, मह उत्पादन, आदि गरिएको छ । फर्ममा १२५ भन्दा बढी गाई छन् भने करिब २ बिगाहामा ४ वटा माछापोखरी छ ।

सहकारीले २०७६ वैशाखदेखि २० करोडको लागतमा विर्तामोडमा सहकारी पसल (कोपसप) सञ्चालन गरेको छ । त्यस्ता १७ वटा पसल अहिले सञ्चालनमा छन् । जसले मूल्य नियन्त्रणमा सहयोग गर्ने, सदस्य तथा किसानको उत्पादन खरिदको प्रयास गर्ने, खरिद संस्कारमा परिवर्तन गर्ने प्रयास गरिएको सहकारीका सूचना अधिकारी मनिष कोइराला बताउँछन् ।

एनएमसीले गरेको अर्को नमूना काम चिया प्रशोधन पनि हो । १३ करोड रुपैयाँ लागतमा मेचीनगर–५, सुरेन्द्रनगर रहेको उद्योगको शाखा इलाममा २ वटा र झापामा एउटा रहेको छ । उद्योगले ग्रीन टि र ब्ल्याक टी (अर्थोडक्स), सिटिसी चिया, मसाला चिया आदि उत्पादन गरिरहेको छ । जसमा ३ सय बढी किसान आवद्ध छन् ।

एनएमसीमा अहिले ११ सयभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् । एनएमसी सेवा आयोगमार्फत कर्मचारी छनौट गरिन्छ । सबै कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । सहकारीको आर्थिक वर्ष २०५०–५१ मा २ लाख २७ हजार १२९ रुपैयाँ थियो भने कर्जा पनि २ लाख २७ हजार १२९ रुपैयाँ नै थियो । त्यसबेलाको बासलात ४ लाख ८० हजार १२९ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८०–०८१ को आर्थिक विवरण अनुसार संस्थामा हाल बचत १० अर्ब ७१ करोड ४८ लाख ८५ हजार ६१० रुपैयाँ, कर्जा प्रवाह १० अर्ब ६६ करोड २ लाख ६१ हजार छ । यस्तै संस्थाको वासलात १४ अर्ब ११ करोड ५६ लाख २१ हजार ९३१ रुपैयाँको छ ।सहकारीले बचत तथा ऋण व्यवसायबाट आर्थिक वर्ष २०८०–०८१ मा ३५ करोड रुपैयाँ नाफा गर्दा कृषि फर्म, सहकारी पसल र चिया उद्योगबाट भने नोक्सानी व्यहोर्नु परेको जनाएको छ । डेरी व्यवसायबाट भने उसले सोही आर्थिक वर्षमा ३ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । समग्रमा सहकारीले २९ करोड ७२ लाख ७० हजार रुपैयाँ नाफा गरेको देखिन्छ ।

सहकारीले संस्थागत कोष, अन्य कोष, पूँजीगत अनुदान कोष, जोखिम कोषको व्यवस्था गरेको छ । जसले सहकारीमा जुनसुकै बेला निम्त्याउन सक्ने समस्यालाई समाधान गर्न पर्याप्त हुने कोइराला बताउँछन् ।

संस्थाको बचत तथा ऋण व्यवसाय अन्तर्गतका ५९ वटा सेवाकेन्द्रमध्ये सदस्यलाई कर्जा लगानी गर्नका लागि ५९ वटा सेवाकेन्द्रमा सेवा केन्द्रगत उपसमितिको व्यवस्था गरिएको छ । संस्थाको कर्जा सम्बन्धी आन्तरिक कार्यविधि अन्तर्गत रही प्रत्येक सेवा केन्द्रगत उपसमिति र सेवाकेन्द्र प्रमुखलाई कर्जा लगानीको सीमा तोकी कर्जा स्वीकृत गर्ने अधिकार दिइएको छ ।

संस्थाद्वारा एक सदस्यमा अधिकतम १ करोड र एकै परिवारमा अधिकतम २ करोडसम्मको कर्जा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सम्पूर्ण कर्जा लगानीलाई सञ्चालक समितिको नियमित बैठकबाट अनुमोदन गर्ने गरिएको छ ।

संस्थाबाट सम्बन्धित सदस्यलाई कर्जा लगानी गर्दा अनिवार्य रुपमा सदस्यको जग्गा, पक्की घर, सवारी साधन र निक्षेपलाई धितोको रूपमा स्वीकार गर्ने गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले बताए । सूचीकृत संस्थागत मूल्याङ्कनकर्ताको मूल्याङ्कन प्रतिवेदनका आधारमा धितो मूल्याङ्कन गरी ऋण लगानी गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

सहकारीले सञ्चालक समिति पदाधिकारीलाई नियम विपरीत कर्जा प्रवाहमा रोक लगाएको छ । ‘संस्थाको आन्तरीक कार्यविधि बमोजिम संस्थाका सञ्चालक समिति पदाधिकारीहरुमध्ये ४९ प्रतिशत सदस्यहरुमा कर्जा लगानी गर्न सकिने प्रावधान रहेको छ । यद्यपी २०८१ असोज मसान्त सम्ममा संस्थामा १० अर्ब ७९ करोड ३३ लाख ५८ हजार कर्जा मौज्दात रहेकोमा सञ्चालक समितिमा प्रवाह भएको कर्जाको बाँकी मौज्दात ५२ लाख १७ हजार मात्रै छ ।

संस्थाको आ.व. २०८०-०८१ को अन्त्यमा ४.८७ प्रतिशत भाखा नाघेको कर्जा रहेको छ । संस्थाले प्रतिकूल परिस्थितिका लागि कोषको व्यवस्था गरेको छ । संस्थामा २०८१ असार मसान्तसम्म आइपुग्दा कुल १ अर्ब १४ करोड ९४ लाख ५७ हजार रुपैयाँ साधारण जगेडा र अन्य विभिन्न कोषहरुमा मौज्दात छ ।

संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती सहकारी स्थापना गर्दा पर्याप्त ज्ञान नभएपनि पवित्र भावना हुँदा संस्था अहिलेको अवस्थामा आइपुगेको बताउँछन् । ‘सहकारीको ज्ञान नभएपनि भावना पवित्र भएकोले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याईँ गरेनौँ’ उनी भन्छन्, ‘सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आज यो अवस्था बन्यो ।’

सहकारीले स्वदेशी कृषि उपजमा आधारित खाद्य उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर एनएमसीले सदस्य, कर्मचारी र समाजमा असल संस्कारको अभ्यासलाई सघन बनाएको छ ।
फोटो

मङ्गलबार, ०४ मंसिर, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर