विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचनमा १५ दलका उम्मेदवार र एक जना नेकपा एमालेका बागीको रुपमा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार उपनिर्वाचनमा अध्यक्ष पदका लागि १६ जनाको मनोनयन दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय छुट्याएको थियो ।
गाउँपालिका अध्यक्षमा सबैभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । पालिकको अध्यक्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार चौधरी विश्वास, नेकपा एमालेबाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएको निर्वाचन आधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट असन्तुष्ट बनेका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।