विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् ।
प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।
समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । जनआन्दोलन चोकमा आयोजित सभामा पहिचानको पक्षमा दलका नेताहरुले पनि ऐक्यबद्धता जनाए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसाल, पहिचानवादी नेतागो पाल किराँती, जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङ, जसपा नेता जयराम यादव, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्रकुमार राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायतले सम्बोधन गरेका थिए ।
पहिचान पक्षधरको प्रदर्शनसँगै ‘कोशी’ नाम खारेजीको आन्दोलन पुनः ब्युँतिएको छ । नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो ।
पहिचानवादीको प्रदर्शनलाई ध्यानमा राखेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।