ग्रामथानामा एमालेबाट चौधरीले दिए बागी उम्मेदवारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का आधिकारिक उम्मेदवारविरुद्ध एमालेकै एक कार्यकर्ताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा अध्यक्षको आकांक्षा राखेको भएपनि पार्टीले उम्मेदवार नबनाएपछि ग्रामथान ५ का नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चौधरी एमालेको गाउँ कमिटि सदस्य हुन् ।

चौधरीसहित एमालेको ग्रामथान गाउँ कमिटिले ११ जनाको नाम उम्मेदवारको लागि जिल्ला समितिमा सिफारिस गरेको थियो । तर, जिल्ला समितिबाटै उनको नाम काटिएको थियो भने पार्टीले तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीले विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

पालिकामा अध्यक्षको लागि १५ राजनीतिक दल र १ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा एमालेका विश्वास, नेपाली काँग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास, नेकपा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी छन् । यस्तै नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन्।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

आइतबार, ०२ मंसिर, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर