कोशीका पुर्बमन्त्री अधिकारीलाई पक्राउ गर्न प्रहरी टोली निवासमा

विराटनगर । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गर्न प्रहरी टोली निवासमा पुगेको छ ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई आज विराटनगरस्थित निवासबाटै पक्राउ गर्न लागिएको हो ।

अधिकारीलाई पक्राउ गर्न मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय कोशी र काठमाडौंबाट आएको प्रहरी टोली खटिएको छ । उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा काठमाडौं पठाउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्रकुवेर खापुङले बताए । ‘उहाँलाई काठमाडौं पठाउनका लागि व्यवस्थापन भइरहेको छ’ उनले भने ।

अधिकारीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौँ लगिँदैछ। अधिकारीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्न लागेको प्रहरी स्रोतले जनाएको छ ।  काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

आइतबार, २५ कार्तिक, २०८१, दिउँसोको ०१:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर