जापानको मानव तस्करीमा अधिकारीको संलग्नता कति ?

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीको अनुसन्धानमा तानिने भएपछि राजीनामा दिएको खुलेको छ । प्रदेश सरकार र मुख्यमन्त्रीलाई औपचारिक जानकारीसमेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए ।

अधिकारीसँगै नक्कली कागजात बनाएर जापान छिर्न खोजेको तीन जना पनि रहेका थिए । त्यसबारे जानकारी पाएपछि जापानको अध्यागमनले टोकियो विमानस्थलबाट चारै जनालाई डिपोर्ट गरेको थियो ।

पदीय मर्यादा विपरित र गैरकानुनी रुपमा मन्त्री विदेश गएको विषय हाम्रोमतले सार्वजनिक गरेको थियो । मन्त्रीको विदेश भ्रमण प्रदेश मन्त्रिपरिषदको निर्णयसहितको सिफारिसका आधारमा संघीय सरकारले स्वीकृत गर्नुपर्नेमा मन्त्री अधिकारी कुनै प्रक्रिया पुरा नगरी उडेका थिए ।

अधिकारीसँगै जापान उडेका खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको हो । अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरुलाई पनि लिएर जापानको विमानस्थलबाट नेपाल फर्किएको दावी गरेका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले नक्कली कागजातको आधारमा जापान जान लागेको खुलेपछि विमानस्थलमै २४ घण्टासम्म रोकेर डिपोर्ट गरेको पाइएको छ ।

काठमाडौँ विमानस्थलमा ओर्लिएपछि तीन जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो । मन्त्री अधिकारी भने विमानस्थलबाट सहजै बाहिरिएको पाइएको छ ।मन्त्री अधिकारी गैरकानुनी रुपमा जापान गएर फर्किएको बारेमा हाम्रोमतले समाचार प्रकाशन गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार विहान निवासमै बोलाएर उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्रीको निर्देशन अनुसार अधिकारीले बुधबार विहान निवासमै पुगेर राजीनामा बुझाए ।

मुख्यन्त्रीको निर्देशनपछि राजीनामा दिएका मन्त्री अधिकारीले आफैंले गल्ती गरेको फिल गरेर नैतिकताको हिसावले राजीनामा दिएको दावी गरेका छन् । ‘निजी जापान भ्रमणको विषयलाई लिएर केही टिका टिप्पणीहरु बाहिर आए । यो आइसकेपछि आज हाम्रो देशमा एक खाले राजनीतिक नैतिक खडेरीको चर्चा, परिचर्चा भएको समाजमा नकारात्मक चर्चा बढ्दै गएको बेला यस्तो टिप्पणी सुनि–सुनी पदमा बसिरहन मलाई उचित लागेन,’ उनले भने ।

मुख्यमन्त्रीले आफूलाई राजीनामा नगर्न सुझाव दिएको अधिकारीको दावी छ । ‘समाचार आउनेवित्तिकै म आफैं मुख्यमन्त्रीकोमा गएर म राजीनामा दिन्छु भनेको हुँ’ उनले भने, ‘मुख्यमन्त्रीले यस्तो विवाद अन्त पनि भएको छ नि किन हतार गर्नुहुन्छ भन्नुभएको थियो ।’
मुख्यमन्त्री कार्कीले भने विवादमा परेपछि अधिकारीलाई निवासमै बोलाएर राजीनामा दिन भनेको बताएका छन् । ‘हाम्रोमतको समाचार हेरेपछि नै मैले बोलाएर सोधपुछ गरि आवश्यक निर्णय गर्न भनेको थिएँ’ उनले भने, ‘आज विहान राजीनामा आएपछि स्वीकृत भइसकेको छ ।’

मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारी स्वयंले पनि अनुसन्धानलाई सहयोग गर्न राजीनामा गरेको बताए । ‘मप्रति भएका नकारात्मक टिकाटिप्पणीलाई अध्ययन अनुसन्धान र छानविन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरुले जनताकै बीचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन मैले राजीनामा दिएको छु,’ उनले भने ।

अधिकारीले आफू जापान जाने क्रममा आफूसँग तीन जना नेपालीले नक्कली डकुमेन्ट बनाएर उतै बस्ने योजना बनाएको जानकारी पाएको बताएका छन् । जापानको टोकियो महानगरपालिकामा आयोजित सांस्कृतिक कार्यक्रमका लागि सिंगल गएकोमा हङ्कङमा तीन जना नेपाली भेटिएको र उनीहरु उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएको उनको दावी छ ।

आफूसमेत जोडिएर गएका व्यक्ति उतै बस्ने खुलेपछि देशप्रति राष्ट्रप्रति गद्दारी गर्नु हुँदैन भनेर फिर्ता हुन खोज्दा ट्रान्जिटबाट फिर्ता हुन नमिलेकोले जापान विमानस्थलबाट फिर्ता भएको उनले बताए । ‘उनीहरु मेरै कार्यक्रममा मिलाएर गएका रहेछन्, दुई जना खोटाङको र एउटा रसुवाको’ उनले भने, ‘त्यो खुलेपछि उनीहरुसहित जापान नगई विमानस्थलबाटै फर्किएकोमा काठमाडौंबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।’

अधिकारीका अनुसार मोरङको रतुवामाई नगरपालिका निवासी एमाले कार्यकर्ता गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन जापान जाने प्रबन्ध मिलाइदिएका थिए । टिकटको व्यवस्था पनि उनैले गरेका थिए ।

अधिकारीका अनुसार अक्टोबर २९ तारिकदेखि नोभेम्बर ३ तारिकसम्म टोकियो महानगरपालिकाको कार्यक्रम थियो । सोही कार्यक्रममा उनी गएका हुन् । जापानको टोकियो महानगरपालिकाले औपचारिक निमन्त्रणा गरेको पनि उनले दाबी गरेका छन् । तर, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला मन्त्रालयले पनि जापानको कार्यक्रममा मन्त्रीलाई निम्ता गरेको औपचारिक जानकारी नभएको बताएको छ ।

जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । यस्तै कञ्चन देवकोटा र जनक राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ उल्लेख गरेको परिचयपत्र प्रहरीले बरामद गरेको छ ।

जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई जापान उड्न कागजपत्र बनाईदिने थप तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनुवार छन् ।

पक्राउ परेकाहारुलाई हिरासतमा राखेर सिआईबीको मानब बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाउन पठाएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।

परिचयपत्रको आधिकारिकताबारे आन्तरिक मामिला मन्त्रालय र ऐँसेलुखर्क गाउँपालिकामा पत्राचार गरिएको प्रहरी स्रोतले जनाएको छ । आरोपीहरूको बयानका आधारमा मन्त्री अधिकारी पनि अनुसन्धानको दायरमा आउनसक्ने प्रहरी स्रोतले जनाएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ स्रोतले भन्यो, ‘घटना शंकास्पद छ ।’

काठमाडौँ प्रहरीले अहिले लिखतसम्बन्धी कसुरमा म्याद थपेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा जोडिएका अरू दुई जना फरार रहेकोले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २(२)बाट निर्वाचित एमालेका सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका उनी सांसद रहँदारहँदै सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतको पक्षमा अदालतमा बहस गरेपछि विवादमा परेका थिए । त्यसबेला नेकपा एमालेले उनलाई स्पष्टिकरण सोधेर सचेत गराएको थियो ।

बिहिबार, २२ कार्तिक, २०८१, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर