कोशी प्रदेशसभामा नेताको दन्तबझाना

मन्त्रीद्वारा विगतको कुरा देखाएर दोषबाट पन्छिने प्रयास, सांसद हप्काएको भन्दै प्रतिपक्षीको आपत्ती

विराटनगर । कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट शुक्रबार बहुमतले पारित भयो । तर, बजेट विनियोजनको विषयलाई लिएर बजेट पारित हुने अन्तिम दिनसम्म प्रदेश सभामा मन्त्री र प्रतिपक्षी दलका सांसदबीच गम्भीर टकरावको स्थिति सिर्जना भयो ।

मन्त्रीहरूले बजेटमाथिको आलोचनाको जवाफ दिँदा आक्रामक र अपमानजनक भाषा प्रयोग गरेको भन्दै प्रतिपक्षी दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकारले ‘सदनलाई हप्काएको’ र बजेट ‘लुटपाटमा परिणत भएको’ गम्भीर आरोप लगाए । शुक्रबारको प्रदेश सभाको विशेष समयमा बोल्दै पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारको मनोमानीपूर्ण बजेट र मन्त्रीहरूको जवाफदेहीहीन शैलीप्रति कडा आपत्ति जनाएका हुन् । ‘संसद विपक्षीको आवाज मुखरित गर्ने ठाउँ हो, तर यहाँ प्रतिपक्षीको आवाज दबाउन खोजियो र मन्त्रीहरूले जवाफ दिनुको साटो सदनलाई हप्काउने काम गर्नुभयो,’ आङ्बोले भने ।

नेता आङ्बोको यो आक्रोशपूर्ण अभिव्यक्ति मन्त्रीहरूले दिएको जवाफको प्रतिक्रिया स्वरूप आएको हो । बजेट छलफलका क्रममा विभिन्न मन्त्रीहरूले प्रतिपक्षी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदा तथ्य र तथ्याङ्कमा भन्दा बढी राजनीतिक प्रतिशोध र व्यक्तिगत आक्षेपमा केन्द्रित भएको देखिन्थ्यो । मन्त्रीहरु सन्तुलित ढंगले भन्दा दम्भी तरिकाले प्रस्तुत भएका थिए ।

बजेटमा उठेका विषयमा जवाफ दिने क्रममा गत बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सबैभन्दा चर्को भाषा प्रयोग गरे । उनले आफ्नो राजनीतिक पृष्ठभूमि र शक्तिलाई देखाउँदै प्रतिपक्षीको आलोचना गर्ने नैतिक धरातलमाथि नै प्रश्न उठाए । ‘मेरो निर्वाचन क्षेत्रमा बजेट जाँदैमा म खराब भएँ भनेर भाष्य नगर्नुस् । तपाईं आफ्नो जिल्लालाई हेर्नुस्ु । ३२ वटा वडामा १७ वटा कांग्रेसले जितेको छ, तपाईं कति गर्नुभएको छ ?’ भन्दै मण्डलले प्रतिपक्षी सांसदहरूलाई उनीहरूको राजनीतिक क्षमतामाथि नै चुनौती दिएका थिए । मण्डलले आफूलाई प्रश्न गर्ने काँग्रेस सांसदहरुप्रति नै चेतावनी दिँदै भने, ‘कांग्रेस बनेर कांग्रेसको खत्तम मान्छे भनेर यसरी औँला देखाउने काम नगरौं । म यो सहन तयार छैन ।’

त्यसैगरी, भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले पनि पूर्ववर्ति सरकारका कमजोरीहरूलाई औंल्याउँदै आफ्नो बजेटको बचाउ गरेका थिए । सांसदहरुले उनलाई असमान ढंगले बजेट वितरण गरेको गम्भीर आरोप लगाएका थिए । मन्त्री राईले उनको निर्वाचन क्षेत्र खोटाङमा मात्रै १ अर्ब बढीको आयोजना लगेको सांसदहरुको आरोप थियो । उनलाई यस्तो आरोप लगाउने सांसदहरु विपक्षी मात्रै थिएनन् । सत्ता पक्षका पनि कतिपय सांसदले यस्तो आरोप लगाएका थिए ।

मन्त्री राईले भने विगतका सरकारले गरेका निर्णयको भार आफूले बोक्नुपरेको र बजेट बिगार्ने प्रवृत्ति पहिलेदेखि नै रहेको तर्क गरे । खोटाङमा बढी बजेट गएको भन्ने आलोचनाको प्रतिवाद गर्दै उनले भने, ‘सबैभन्दा कम विकास भएको जिल्ला खोटाङ हो । खोटाङलाई न्याय गर्दा अरु जिल्लालाई अन्याय गरेको छैन ।’ उनले विगतका सरकारले गरेको बजेट बाँडफाँडको उदाहरण दिँदै भने, ‘आफूले बजेट बिगार्ने अनि अरूलाई दोष लगाउने ? ।’

यस्तै शैलीमा अन्य मन्त्रीहरूले पनि प्रतिपक्षीको आलोचनालाई खारेज गर्दै आफ्नो बजेटलाई सही ठह¥याउने प्रयास गरेका थिए । मन्त्रीहरूको यही आक्रामक र गैरजिम्मेवारपूर्ण जवाफपछि नेता आङ्बोले सरकारमाथि स्रोतको लुटपाट गरेको आरोप लगाएका हुन् । ‘यो चोटि स्रोतमा चरम दोहन र लुटपाट भएको छ,’ आङ्बोले तथ्यांक प्रस्तुत गर्दै भने, ‘केही सीमित जिल्लामा अरबौंंको बजेट थुपारिएको छ भने चारजना सांसद भएको पाँचथर जस्तो जिल्लामा जम्मा ३६ करोड मात्रै छुट्याइएको छ । यो न्यायोचित वितरण होइन ।’

आफ्नो कार्यकालमा प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा सन्तुलित बजेट पुर्याएको दाबी गर्दै उनले वर्तमान सरकार आफ्ना कमजोरी लुकाउन विगतलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए । उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै यस्तो असन्तुलित बजेट नसच्चिएसम्म सदन र सडकबाट निरन्तर आवाज उठाइरहने चेतावनी दिए । ‘सरकारले राम्रो काम गरोस्, हामी स्वागत गर्छौं । तर मनपरी गरेर कोको पारेर बजेट एकैठाउँमा लैजाने प्रवृत्ति हामीलाई स्वीकार्य छैन’, उनले भने । यो घटनाले कोशी प्रदेशमा बजेटलाई लिएर सरकारका केही मन्त्री र सांसदबीचको दूरी झनै बढेको देखाएको छ ।

शुक्रबार, १३ असार, २०८२, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर