विराटनगर । २०७३ मा ‘सबैको लागि खाना, नाना र छाना’ भन्ने उद्देश्यसहित स्थापना भएको मानब सेवा आश्रम परोपकारी संस्था हो । यसले खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानिसहरुको उद्धार, उपचार, संरक्षण र हेरचाहको काम गर्दै आएको छ ।
सरकारले गर्नुपर्ने काम गरिरहेको उक्त संस्थाले आफ्नै भवन नहुँदा भाडाको भवनमा उद्धार गरिएका मानिसहरुलाई राख्ने गरेको छ । विराटनगर–५ मा उक्त संस्थाको भवन निर्माण सुरु भएपनि पुरा भएको छैन । संस्थाको भवन बनाउन कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत मानब सेवा आश्रमलाई २० लाख बजेट बिनियोजन गर्दा सरकारले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको नामम स्थापना भएका प्रतिष्ठानको नाममा भने करोडौं बजेट छुट्याएको छ । नेताहरुको नाममा खुलेको स्मृति प्रतिष्ठानको लागि मात्र आगामी वर्षमा १५ करोड रुपैयाँ हाराहारी बजेट छुट्याइएको छ ।
आगामी वर्षको लागि पूर्वाधार विकास कार्यालय मोरङले मोरङको कटहरीमा सुशिला–विश्वेश्र स्मृति प्रतिष्ठानको भवन बनाउन ३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त प्रतिष्ठान नेपाली काँग्रेसको प्रदेश कार्यालयको रुपमा निर्माण भइरहेको भवन हो । गत वर्ष पनि सो भवनको लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।
पूर्वाधार कार्यालय मोरङले नै शुशिला–विश्वेश्वर स्मृति सामुदायिक भवन बनाउन १ करोड १४ लाख रुपैयाँ बजेट राखेको छ । उक्त भवनको ठेगाना खुलाइएको छैन । स्रोतका अनुसार कटहरीमा बन्ने पार्टी कार्यालयकै लाथि अर्को शिर्षकमा थप बजेट हालिएको हो । यसरी काँग्रेसको कार्यालय बनाउन ४ करोड १४ लाख रुपैयाँ बजेट हालिएको छ ।
काँग्रेसका नेताका नाममा बनाउन लागेको भवन यो एउटा मात्र हैन । शुशिला कोइरालाको नाममा विराटनगरमै अर्को बजेट हालिएको छ । विराटनगर–८ मा सुशिला कोइराला स्मृति भवनको लागि १ करोड ९९ लाख ६५ हजार रुपैयाँ बजेट राखिको छ । सो भवनको लागि आर्थिक वर्ष २०७६\७७ देखि २०७९\८० सम्म प्रदेश सरकार, विराटनगर महानगरपालिका र संघीय सरकारबाट २ करोड ५८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, भवन किन बनाएको हो भन्ने प्रतिष्ठानका सञ्चालकले पनि स्पष्ट बताउन सकेका छैनन् ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा प्रदेश सरकारले ३ वटा शिर्षकबाट ५९ लाख रुपैयाँ बजेट हालेको छ । भट्टराइको नाममा फाउन्डेशन भवन निर्माण विराटनगर ४ मा ५० लाख र ५ लाख पूर्वाधार कार्यालयबाट तथा ४ लाख सामाजिक विकास मन्त्रालयबाट बजेट हालिएको छ । उक्त भवनमा गत आर्थिक वर्षसम्म प्रदेश, संघ र विराटनगर महानगरपालिकाले महानगरमार्फत मात्र ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ खर्च गरिसकेका छन् । काँग्रेसका प्रदेश उपसभापति रमेशजंग रायमाझी अध्यक्ष रहेको प्रतिष्ठानलाई प्रदेश सरकारले आर्थिक वर्ष २०७८\७९ मा ५० लाख, २०७९\८० मा ५७ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।
प्रदेश, संघ र विराटनगर महानगरले नियमित बजेट खन्याउने अर्को प्रतिष्ठान हो, विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठान । काँग्रेस नेता डा. शेखर कोइराला संरक्षक रहेको उनकै आमाको नाममा रहेको प्रतिष्ठानको विराटनगर ४ स्थित भवनको लागि २५ लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको छ । सो भवनमा प्रदेश सरकार र महानगरपालिकाले यसअघि १ करोड बढि खर्च गरिसकेका छन् ।
नेताका नाममा भवन बनाउन बजेट बिनियोजनको सुची त्यति मात्र छैन । मोरङको सुन्दरहरैंचा २ मा विपी कोइराला सोसलिष्ट इन्टरनेशनल भवन बनाउन १ करोड र विपी कोइराला सेवा केन्द्र सामुदायीक भवनलाई ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । खोटाङमा बिपी स्मृति भवन निर्माणको लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । बीपीको भवन बनाउन खोटाङमा १ करोड बजेट छुट्याएको प्रदेश सरकारले खोटाङकै हलेसी क्याम्पसलाई भने ३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । खोटाङमै गणेशमान स्मृति भवन बनाउन २५ लाख रुपैयाँ बजेट राखिएको छ ।
विराटनगरमा काँग्रेस नेता सुुवर्ण शमशेरको नाममा भवन बनाउन ३५ लाख, रतुवामाइ ६ मा जीपी भवन बनाउन १० लाख र झापाको गौरादह ९ मा गिरिजाप्रसाद कोइराला स्मृति सभाहल बनाउन ७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगर १ मा जीपी कोइराला स्मृति भवन, जीपी कोइराला कोइराला स्मृति महिला भवन र जीपी कोइराला फाउन्डेसन गरि ४ वटा परियोजनामा आर्थिक वर्ष २०७६÷७७ देखि २०७९÷८० सम्म विराटनगर महानगरपालिका र प्रदेशको डेढ करोड बढि बजेट खर्च भइसकेको छ ।
काँग्रेस मात्र नभएर एमाले नेताको नाममा पनि राम्रै बजेट राखिएको छ । ताप्लेजुङमा मदन भण्डारीको घर पुनःनिर्माण गर्न ८० लाख र मदन भण्डारी संग्रहालयको नाममा ३२ लाख रुपैयाँ बजेट राखिएको छ ।
मदन स्मृति भवन त्रियुगा १२ उदयपुरमा १० लाख, मदन भण्डारी फाण्डेशन भवन निर्माण गर्न खोटाङमा ३० लाख, मदन स्मृति भवन फेदाप तेह्रथुममा १५ लाख, मनमोहन जेष्ठ नागरिक भवन इनरुवा ५ मा १५ लाख, मदन भण्डारी वैचारिक मञ्चको सेमिनार हल इनरुवा २ मा २० लाख र मदन आश्रिम स्मृति प्रतिष्ठानको भवन कमल ३ झापा ४० लाख रुपैयाँ बजेट राखिएको छ । सामाजिक विकास मन्त्रालयबाट मदन आश्रित स्मृति भवन गौरादह ७ मा १० लाख, मदन भण्डारी फाउण्डेशन मोरङ ४ लाख र मदन भण्डारी फाउन्डेशन संखुवासभा ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
प्रदेश सरकारको नीति अनुसार आर्थिक मामिला मन्त्रालयले पनि नेताहरुको जन्मघर संरक्षण गर्न भन्दै ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । ख्यातीप्राप्त व्यक्तिको जन्मघर संरक्षण भन्दै सो बजेट राखिएको छ ।
सरकारले नेताको नाम मात्र नभएर उद्योगी व्यवसायीको भवन बनाउन पनि प्रसस्त बजेट दिएको छ । प्रदेश सरकारले निर्माण व्यवसायी संघ सुनसरीको भवन बनाउन १० लाख र खोटाङमा उद्योग वाणिज्य संघको सचिवालय बनाउन २५ लाख रुपैयाँ बजेट दिएको छ । यस्तै, गौरिगञ्ज उद्योग वाणिज्य संघको भवन बनाउन १० लाख र होटल व्यवसायी संघ भवन मेचीनगर झापा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
प्रदेश सरकारले विभिन्न वंश र गोत्रका भवन बनाउन पनि मनग्ये बजेट बिनियोजन गरेको छ । तिम्म्सिना बन्धुको भवन विराटनगर १ मा १० लाख, खप्तरी बस्नेत पुजास्थल निर्माण विराटनगर १९ मा १० लाख र धमला प्रतिष्ठानको भवन विराटनगर १९ मा ३५ लाख बजेट राखिएको छ । यस्तै, पौडेल बंश प्रतिष्ठान सुन्दरहरैंचा ७ मा ११ लाख, दाहाल प्रतिष्ठान भवन सुन्दरहैंचा ७ मा १० लाख, टंकनाथ दयमन्दा स्मृति प्रतिष्ठान अर्जुनधारा झापामा ४० लाख, सुतार कार्की गुठी समाज दुधकुण्ड सोलुमा ३४ लाख रुपैयाँ बजेट राखिएको छ ।
सरकारले प्रदेश सांसद इन्दिार थापाको धनकुटास्थित केयर वुमन नेपाललाई ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अस्पताल चलाउन भन्दै व्यक्तिको संस्थालाई ६० लाख रुपैयाँ बजेट छुट्याएको सरकारले धनकुटा १ मा आधुनिक स्वास्थ्य चौकी निर्माण गर्न भने १० लाख रुपैयाँ मात्र बजेट बिनियोजन गरेको छ ।