मन्त्री अधिकारीलाई जापानले टोकियो बिमानस्थलबाट डिपोर्ट गरेको खुलासा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित उनको सचिवालय सदस्य भएको नक्कली कागजात बनाएर जापान गएकालाई जापानले नै डिपोर्ट गरेको खुलेको छ ।

अधिकारीसँगै जापान उडेका खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको हो ।

अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरुलाई पनि लिएर जापानको विमानस्थलबाट नेपाल फर्किएको दावी गरेका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले नक्कली कागजातको आधारमा जापान जान लागेको खुलेपछि विमानस्थलबाटै डिपोर्ट गरेको पाइएको छ ।

कार्तिक १३ गते जापान उडेका अधिकारीसहित अन्य तीन जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको हो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि तीन जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो ।

मन्त्री अधिकारी विमानस्थलबाट सहजै बाहिरिएको पाइएको छ । प्रदेश सरकार र मुख्यमन्त्रीलाई पनि जानकारी नदिई अधिकारी जापान गएकोबारे हाम्रोमतले समाचार प्रकाशन गरेको थियो । त्यसपछि अधिकारीलाई राजीनामा दिन मुख्यमन्त्री हिक्कतमुकार कार्कीले निर्देशन दिएका थिए । उनले बुधवार राजीनामा दिइसकेका छन् ।

जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर छन् । जापानबाट डिपोर्ट भएकाहरूले दिएको बयानको आधारमा उनीहरु पक्राउ परेका हुन् । आफ्नो कागजात पाण्डे, रिजाल र विरबहादुरले बनाइदिएको उनीहरुले बयान दिएका छन् ।

उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाउन पठाएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।

जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । यस्तै कञ्चन देवकोटा र जनक राईको साथबाटकोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको सचिवालयका ‘सहायक’ उल्लेख गरेको परिचयपत्र प्रहरीले बरामद गरेको छ ।

परिचयपत्रको आधिकारिकताबारे आन्तरिक मामिला मन्त्रालय र ऐँसेलुखर्क गाउँपालिकामा पत्राचार गरिएको प्रहरी स्रोतले जनाएको छ । आरोपीहरूको बयानका आधारमा मन्त्री अधिकारी पनि अनुसन्धानको दायरमा आउनसक्ने प्रहरी स्रोतले जनाएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ स्रोतले भन्यो, ‘घटना शंकास्पद छ ।’

काठमाडौँ प्रहरीले अहिले लिखतसम्बन्धी कसुरमा म्याद थपेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा जोडिएका अरू दुई जना फरार रहेकोले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

मन्त्रीसँगै अन्य तीन जना उडेका थिए जापान : मानव तस्करीमा जोडिने भएपछि राजीनामा !

बुधबार, २१ कार्तिक, २०८१, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर