चौधरी समूहले हडपेको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु

जग्गा फिर्ता भइसकेपछि उक्त स्थानमा रहेको जीर्ण भवन स्तरोन्नति गरी निजामति सेवा अस्पताल चलाउने

विराटनगर । सुनसरीको दुहबी नगरपालिका –५ मा रहेको सार्वजनिक जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ । करोडौं मूल्य पर्ने ९ कठ्ठा ८ धूर जग्गा फिर्ता गर्न चौधरी ग्रुपले नगरपालिकालाई पत्र लेखेको थियो ।

उक्त विषय इटहरीस्थित अख्तियार अनुसन्धान आयोगमा अनुसन्धानको क्रममा छ । तर, अर्बपति विनोद चौधरी र उनका भाइ अरुण चौधरीसहित (चौधरी ग्रुप)ले काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हत्याएको विषयमा अरुण पक्राउ परेका थिए । सोही घटनापछि दुहबीको जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहित बसन्त चौधरीले दुहबी नगरपालिकाका प्रमुख वेदप्रकाश गच्छदारलाई पत्र पठाएका थिए ।

चौधरीले पठाएको जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहितको पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जग्गा फिर्ताको प्रक्रिया सुरु गरिदिन पहलका लागि पत्राचार गरिसकेको छ । सो अनुसार प्रक्रिया अगाडि बढेको नगरप्रमुख गच्छदारले बताए । तर, अख्तियारमा मुद्दा परेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अगाडि बढाउन सकेको थिएन । आवश्यक प्रक्रिया पुरा गरेर अब भने जग्गा फिर्ताको अन्तिम चरणमा पुगेको गच्छदार बताउँछन् ।

सुनसरीको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका ५) मा रहेको जग्गा विनोद चौधरी र बसन्त चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै आफ्नो नाममा लगेको प्रमाणहरुले देखाउँछ । गाविसको नाममा रहेको उक्त जग्गा हस्तान्तरणको लागि तत्कालिन दुहबी आदर्श गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेका थिए ।

गाविसको नाममा रहेको ७ (ख) कित्ता नम्बर १७, १८ र १९ को ९ कट्ठा ८ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा लगेको थियो । उक्त जग्गामा अस्पताल सञ्चालन गर्ने चौधरी ग्रुपको शर्त थियो । दुहबी बजारदेखि करिब डेढ सय मिटर नजिकमा रहेको जग्गामा केहि समय अस्पताल सञ्चालन गरिएको भएपनि अहिले बन्द छ ।

च्यारिटीको नाममा जग्गा दिन तत्कालिन जनप्रतिनिधिसहित ७० जनाले समर्थन गरेका थिए । २०४९ साल चैत्र ४ गते बुधवार तत्कालीन दुहवी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । २०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । कोइरालाले जग्गाको स्वामित्व च्यारिटीलाई हस्तान्तरण गरेका थिए भने अस्पतालको उद्घाटन भने तत्कालिन युवराज दिपेन्द्र शाहबाट गरिएको थियो ।

२०७४ सालमा नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्नका लागि सो जग्गाको खोजी गर्दा जग्गा चौधरी ग्रुपको ट्रष्टको नाममा गएको खुलेको थियो । चौधरी ग्रुपले सो स्थानमा चलाएको अस्पतालका उपकरण काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा लगिसकेको छ । अहिले सो क्षेत्रमा भवन र केहि कर्मचारी मात्रै छन् ।

गाविसले नाममा रहेको जग्गा सरकारी हुने भएकोले मन्त्रिपरिषदको निर्णयविना व्यक्ति वा अन्य संस्थाको नाममा जान नसक्ने पालिकाको जिकिर थियो । चौधरी ग्रुपले हडपेको उक्त जग्गा अहिले धुरको १५ लाखभन्दा बढी पर्ने स्थानीय बताउँछन् । त्यस आधारमा भन्ने हो भने उक्त जग्गाको न्यूनतम मूल्य झण्डै ३५ करोड पर्ने देखिन्छ ।

लामो समयदेखि बन्द रहेको अस्पतालमा केही कर्मचारी राखेरै भए पनि चौधरी समूहले उक्त जग्गा ओगटेको थियो । बाँसबारी काण्डले अत्तालिएको चौधरी ग्रुपले २०८० फागुन ४ गतेको बैठकबाट निर्णय गराई संस्था दर्ता ऐन २०३४ को दफा १४ मा व्यवस्था भएअनुरूप जग्गा फिर्ताको लागि दुहबी नगरपालिकामा गत वर्षको फागुन ११ मा सस्ंथा विघटनको लागि निवेदन दिएको थियो ।

सो जग्गामा निजामती सेवा अस्पताल बनाउने तयारी गरेको नगर प्रमुख गच्छदारले बताए । नेपाल सरकारका मुख्यसचिव अध्यक्ष रहने उक्त निजामती अस्पतालको सञ्चालनबारे अन्तिम तयारी पूरा भइसकेको नगरप्रमुख गच्छादारले जनाएका छन् । सो अस्पताल सञ्चालन भए कोशी प्रदेशका निजामति सेवाका कर्मचारीमात्रै नभएर सर्वसाधारण जनतामा समेत फाइदा पुग्ने उनको विश्वास छ ।

मङ्गलबार, २० कार्तिक, २०८१, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर