पथरी । मोरङको पथरीबजारमा ठूलो मात्रामा विक्रीमा राखिएको म्याद गुज्रिएको खाद्यान्नकोे सामान फेला परेको छ ।
विराटनगरबाट आज पथरी पुगेको अनुगमन टोलील पथरी बजारमा रहेको सबैभन्दा ठूलो होलसेल पसल ‘श्री कृष्ण टे«र्डस’ मा म्याद गुज्रिएको खाद्य बस्तु फेला परेको हो ।
श्री कृष्ण टे«डर्समा बेसार १ सय ग्रामको ८० प्याकेट, कोककोला ५ सय एमलको १२ थान, कान्छि चामल १३ थान, नेहा तेल ९० ग्रामको १ सय १२ बोतल, हेमल आयमल १ सय एमएलको २२ बोतल, हेमल आयलम ५० एमएलको ६२ बोतल, लिचि जुस १ सय एमलको एक दर्जन, सेन्चुरी मसला २ सय ग्रामको एक दर्जन, विस्कुट आधा दर्जनलगायतको अन्य विभिन्न खाद्य बस्तु म्याद सकिएको अवस्थामा फेला परेको हो ।
यस्तै पथरीकै भवानी चामल उद्योगमा कान्छि चामल ४ सय ८० बोरा, मोटो चालम ८० केजीको २ सय ८३ बोरा, सोना मन्सुली ३६ सय ८० बोरा रहेको पाइएको छ । अनुगमनको क्रममा आशिष किराना पसलमा पेय पदार्थ दैनिक उपभोग्य वस्तु म्याद सकिएको फेला परेको थियो । म्याद सकिएको खाद्यवस्तु अनुगमन टोलीले पूर्ण रुपमा नष्ट गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले पथरीको इश्वर फार्मेसीमा पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा फार्मेसीमा औषधि बिक्री वितरणमा मानव दूरी कायम नगरिएको पाइएको थियो । मापदण्ड कायम गरी औषधि बिक्री वितरण गर्न फार्मेसीलाई निर्देशन दिएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा बजारमा उपभोग्य वस्तुको कृतिम अभाव, मूल्य वृद्धि गरिएको, म्याद सकिएको खाद्य वस्तु बिक्री वितरण हुने गरेको जनगुनासो आएपछि अनुगमनलाई तीब्रता दिएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले जानकारी दिनुभयो ।
म्याद गुज्रिएको खाद्यवस्तु बिक्री वितरण गर्नेलाई आवश्यक कारबाहीको लागि ७ दिन भित्रमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको केसीले बताउनु भयो ।
उहाँले बजार अनुगमनलाई तीब्रता दिने बताउनु भयो । अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम विराटनगर र स्थानीय प्रतिनिधि साथै स्थानीय प्रशासनसहितको टोलीले अनुगमन गरेको हो ।