कोशी प्रदेशमा बाढी पहिरोको जोखिम

सरकारको क्षमताले भ्याएसम्म सबै तयारी गरेको दाबी

विराटनगर । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि पुनः दुई दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ ।

गत असोज १० गतेदेखि १३ गतेसम्म लगातार परेको वर्षाले देशभरको जनजीवन प्रभावित भएको थियो भने देशभर २ सयबढी मानिसको ज्यान गएको छ ।

बाढी र पहिरोबाट अरबौंको भौतिक सम्पत्ती क्षति भयो । अझै दुई दर्जनबढी मानिसहरु वेपत्ता छन् । मौसम पूर्वानुमान महाशाखाले पूर्व तयारीबारे सरकार तथा सर्वसाधरणको लागि रेड अलर्ट जारी गरेको थियो । तर, सरकारले पूर्व तयारी गरेको देखिएन । जसका कारण क्षति बढी भयो ।

कोशी प्रदेशमा पुनः आगामी बुधबार र बिहीबार लगातार पानी पर्ने भएपछि सर्वसाधरणमा चिन्ता छ ।

मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ ।

पानी पार्ने यो बादल भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको छ । यो नेपालमा जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ । यसको हल्का प्रभाव काठमाडौं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशसम्म पर्ने छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।

विगत तीन दिन अगाडि जस्तै पानी पर्ने र बाढी आउने पूर्वसूचना नभएपनि त्यस्तो अवस्था सिर्जना भए सरकारले थेग्न सक्ला ? प्रदेश सरकारको पूर्व तयारी के छ ? भन्ने विषयमा सर्वसाधरणको चासो छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीका अनुसार प्रदेश सरकारले क्षमताले भ्याएसम्म सबै तयारी गरेको छ । ‘हामीले पानी रहने वित्तिकै १३ गते नै चारैवटा सुरक्षा निकायका प्रमुख र मन्त्रालयका सचिवहरुको संयुक्त बैठक बोलाएर आ–आफ्नो तर्फबाट एलर्ट रहन, जनताको सेवामा समर्पित हुन निर्देशन जारी गरेका छौं’ उनले भने, ‘मृतक परिवारलाई तुरुन्त राहत उपलब्ध गराउने, घाइतेको चाँडो उपचार गराउने, वेपत्ताको खोजी गर्ने र असुरक्षित स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गराउने, विस्थापितहरुलाई बासस्थानको व्यवस्था र खाद्यान्नको व्यवस्थापन गर्ने निर्णय गरिसकेका छौं ।’

प्रदेशले गर्नसक्ने जति गरेको छ र नसकेको ठाउँमा संघसँग समन्वय गरेर गर्ने प्रयासमा लागेको सरकारले जनाएको छ । भत्किएका पुल, बाटो तथा कल्भर्टहरु पुनः निर्माणको काम सुरु गरिसकिएको बताउँदै अधिकारीले त्यसबो लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेको जानकारी दिए ।

पहिरो गएर बाटो अवरुद्ध भएको ठाउँमा जेसिबी लगाएर तुरुन्तै बाटो खोल्ने, जहाँ बाटो ध्वस्त भएको र पुलै भत्किएको छ भने त्यहाँ के गर्न सकिन्छ भनेर प्रदेश सरकारले छलफल गरिहेको जनाएको छ । ‘तत्कालै पक्कि पुलै बनाउन सकिँदैन होला । तर, बेलिब्रिज सम्म भएपनि दशैं अगाडि नै लगाउन सक्ने गरी प्रक्रिया अगाडि बढाएका छौं’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री अधिकारीले भने, ‘अहिलेसम्म बेलिब्रिज लगाउनु पर्ने पाँचथरको हेवा खोलामा रहेको छ । अन्य स्थानमा सानातिना पुल, पुलेसो भत्काएकाले प्रदेशले नै त्यसको व्यवस्थापन गर्नेछ ।’

राहत र उद्धारको लागि पर्याप्त सामाग्रीहरु तयारी अवस्थामा राखेको पनि अधिकारीले बताएका छन् । ‘उद्धार र राहतको लागि सामाग्रीहरु तयारी अवस्थामा छ । उपचार नपाएर र खान नपाएर कोशीबासी जनताले मर्नु पर्दैन’ उनले भने, ‘मृतकको परिवारलाई पनि जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेर आएको खण्डमा प्रदेश सरकारले तुरुन्तै राहत दिन्छ ।’ काठमाडौंको नख्खु जस्तै नदीको बीचमा बसेर हात हल्लाउनुपर्ने अवस्था आयो भने तपाईहरुले उद्धार गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सक्नेजति ठाउँमा हाम्रो कुनै बाँकी रहँदैन । बेलका र कोशी टप्पुमा पनि हामीले बोटबाट उद्धार गरेका हौं । त्यस्तो अवस्था हामी आउन दिँदैनौं ।’

सर्वसाधरण जनतालाई सम्भावित प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा स्थानान्तरण हुन अपिल गरेको सरकारले जनाएको छ । नदी किनारका ठाउँ, सम्भावित पहिरो जाने ठाउँ, गहिरो स्थानका मानिसहरुलाई सुरक्षित रहन भनेको अधिकारीले बताए । सतर्कता अपनाएकै कारण कोशीमा तुलनात्मक रुपमा कम क्षति भएको उनको दावी छ ।

विपद्बाट कोशी प्रदेश डेन्जर जोनमा रहेको बताउँदै यस्तो अवस्थामा पनि प्रदेश सरकारले सतर्कताका साथ काम गरेको कारण बढी क्षति हुन नपाएको अधिकारीले दाबी गरे । ‘कतिपय स्थानमा हामीले जारी गरेका सूचना र एलर्टहरुको उल्लंघनको कारणले पनि क्षति भएको छ । काबु बाहिरको परिस्थितिमा कसैले केही गर्न सक्दैन’ उनले भने, ‘तर, सक्ने जति हामीले तयारी गरेका छौं । राज्यको तागतले भ्याएसम्म हामी लागेका छौं ।’

कोशी प्रदेशमा पछिल्लो पटक बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दर्जनबढी घाइते भएका छन् भने आधा दर्जन बढी वेपत्ता छन् । प्रहरीले दिएको जानकारी अनुसार प्रदेशमा पूर्ण रुपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

बाढी र पहिरोबाट ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार संख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् ।

हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध छ ।

बुधबार, १६ असोज, २०८१, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर