काठमाडौं । कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ । कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।
कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न छन् । बाँध फुटेर कोशी बस्तीमा पसेको क्षेत्रमा मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमारसहितले हवाई निरीक्षण गरेका छन् ।
बाँध फुट्दा दरभंगा जिल्लाका कयौँ गाउँ बाढीको चपेटामा परेको बिहार सरकारको जल संशाधन विभागले मंगलबार जनाएको छ । सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा गरिरहेका छन् ।
गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् ।कोशीले बाँध फुटाएर गाउँमा पस्दा भुभौल गाउँमा पति–पत्नीसहित तीन स्थानीय बेपत्ता छन् । सोमबार राति तटबन्ध फुटेपछि कयौँ मानिसले घर छाडेका थिए । अन्य मानिस भागे पनि उनीहरू तीनजना बाँध फुटेर गाउँ पसेको कोशीसँगै बगेको बताइएको छ ।
यसैबीच बिहारको जल संशाधन विभागका मन्त्री विजय चौधरीले बाढीबारे पत्रकारसँग सवाल–जवाफ गरेका छन् । उनले पहिलो पटक नेपालमा एकसाथ यति धेरै पानी परेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
यसैकारण नेपालका धेरै नदीमा विशाल बाढी आएको पनि उनले बताए। उनका अनुसार ५६ वर्षयता पहिलो पटक कोशी ब्यारेजमा कीर्तिमानी ६ लाख ६१ हजार क्युसेक पानी बगेको पनि उनले बताए ।