एमालेबाट निर्वाचित मेयर सहकारी ठगीमा जेल चलान

काठमाडौं । बाग्लुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीमा जेल चलान भएका छन् ।

नेकपा एमालेबाट नगरपालिकाको मेयरमा निर्वाचित भएको केहि समयमै इमेज सहकारीको ठगी काण्डमा मुछिएपछि फरार भएका नेपालीलाई केही दिन अगाडि भारतबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाग्लुङले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश मंगलबार दिएको हो । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोमबार बयान भएपछि मंगलबार थुनचेक बहस भएको थियो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका उनलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । उनीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

मेयर नेपालीमाथि सहकारीको २ अर्ब बढी बचत रकम ठगीको आरोप छ । रकम हिनामिनाको विषय उनले स्वीकार गरेको अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।

मङ्गलबार, १५ असोज, २०८१, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर