विराटनगर । सप्तकोशी नदीको पानीको बहाब बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । आज दिउँसोको मापन अनुसार सप्तकोशीमा पानीको बहाब प्रतिसेकेण्ड ५ लाख ७ हजार ६ सय ९५ क्यूसेक मापन गरिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । आज बिहान साढे ८ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड थियो भने बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । पानीको बहाब तीब्र गतिमा बढिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित छन् । भारतीय पक्षले ७ लाख क्युसेक बहाब पुग्ने अनुमान गर्दै सतर्क रहन आफ्ना जनतालाई सुचित गरेको छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरुपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठूलो क्षति निम्त्याउने खतरा हुने बताइएको छ ।
बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ । यस्तै ५६ वटै ढोका खोलिएपछि नेपालको पश्चिम तटबन्ध कटान हुने सम्भावना बढेको छ ।