बाढी र डुबानको कारण मोरङमा सयभन्दा धेरै परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ एक सयभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रंगेलीमा ४१ परिवार विस्थापित भएका छन् । रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका हुन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

रंगेली नगरपालिका–९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर महानगरपालिका–२ र कटहरी गाउँपालिका १ का केही परिवार विस्थापित भएका छन् । विराटनगर–२ का ३ परिवार आफन्तको घरमा सरेका छन् भने कटहरी–१ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ ।

सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ । विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमा परेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो ।

यस्तै मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् ।

शनिबार, १२ असोज, २०८१, बिहानको १०:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर