विराटनगर । पछिल्लो २४ घण्टामा झापामा अत्यधिक वर्षा भएको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताएका छन् । खासगरी शिवसताक्षी नगरपालिका कन्काईको कारण, झापा गाउँपालिका कन्काईको कारण र गौरीगञ्ज गाउँपालिकाका रतुवा खोलाको कारण डुबान भइरहने स्थान रहेकोले सतर्कता अपनाइएको छ ।
लगारताको वर्षाको कारण कन्काइमा बाढीको बहाव उच्च भएको छ । स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशका अधिकांश स्थानमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ । देशका २० भन्दा धेरै स्थानमा वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ । चन्द्रगढी विमानस्थलमा झण्डै २९७.४ मिलिमिटर वर्षा भएको छ भने झापाकै गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३० र बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ ।
इलामको माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ भने मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।
जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशभर भारी वर्षा हुने जनाएको छ । महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने जनाएको छ । वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने जानकारी महाशाखाले दिएको छ ।