विराटनगर । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने बताएको छ ।
धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ ।
कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको रहेको विभागले यसअघि नै बताइसकेको छ । जसका कारण भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।