एमाले महानगर कमिटीमा कोइराला

विराटनगर । मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको नेकपा (एमाले) विराटनगर महागनर कमिटीको विवादले अधिवेशनबाट निर्वाचित कमिटी विस्थापित गरि नयाँ समिति चयन गरिएको छ ।

अध्यक्ष सागर थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको आरोप लगाउँदै कारवाही गरेको एमालेले महानगरमा बुधबार अध्यक्षसहित पदाधिकारीहरु चयन गरेको छ ।

नयाँ पदाधिकारी चयनसँगै नेकपा एमाले विराटनगर महानगर कमिटी पर्शुराम बस्नेतको कब्जामा पुगेको छ । बस्नेत यसअघि नै महानगरको इञ्चार्ज भइसकेका छन् । महानगरमा कार्वाहीमा परेका थापा र बस्नेतबीच बर्चस्वको पुरानै लडाईं रहेकोमा थापालाई पन्छाएर अहिले बस्नेत हाबी भएका हुन् ।

महानगरको अध्यक्षको जिम्मेवारी रोहित कोइरालाले पाएका छन् । उनी बस्नेतका विश्वासपात्र हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट एमालेमा प्रवेश गरेका कोइराला पत्रकार खिलनाथ ढकालमाथि भएको आक्रमणको घटनामा जेलसमेत परेका थिए । सो मुद्दामा बस्नेतपनि मुछिएका थिए ।

महानगर कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा बलराम गिरी, सहसचिवमा अन्ताज हुसेन र उपसचिवमा गणेश साहलाई चयन गरिएको छ । जिल्ला इन्चार्ज जीवन घिमिरेले राजन भण्डारीलाई महानगर अध्यक्ष बनाउने प्रयत्न गरेको भएपनि महानगर इञ्चार्ज बस्नेतको रोजाइका कोइरालाले बाजी मारेका छन् ।

महानगरमा नयाँ पदाधिकारी चयन गरेसँगै नेकपा एमालेभित्रको विवाद अझ बढ्ने देखिएको छ । पार्टीको विधि र विधान मिच्दै तल्ला कमिटीहरुमा अनावश्यक हस्तक्षेप गर्ने र लामो समय पार्टीमा योगदान गरेकाहरुलाई जबरजस्ती पार्टीबाट विस्थापित गरी गुटलाई बलियो बनाउने काम भएको भन्दै एउटा समूह असन्तुष्ट छ ।

पछिल्लो समयमा एमाले मोरङमा कोशी प्रदेश खेलकुद बोर्डको सदस्य सचिवसमेत रहेका बस्नेत हावी हुँदै गएका छन् । नेताहरुको बन्दोबस्ती र व्यवस्थापनको प्रबन्ध गरिदिने भएकोले उनीसँग नेतृत्वमा रहेकाहरु नतमस्तक झैं रहेको एमालेका कार्यकर्ताहरु बताउँछन् । गुण्डागर्दीको पृष्ठभूमि भएका उनले एमाले अध्यक्ष केपी ओलीसँग नजिकको पहुँच स्थापित गरेकोले केन्द्रीय नेताहरु उनको कुरा काट्ने अवस्थामा नरहेको एमाले स्रोत बताउँछन् । त्यहि भएर उनले एमलेको प्रदेश अध्यक्ष घनश्याम खतिवडादेखि जिल्ला इञ्चार्ज घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीसमेतलाई प्रयोग गरेर आफ्नो अनुकुल निर्णय गराइरहेका छन् । उनलाई पार्टी उपाध्यक्ष गुरुप्रसाद बरालसमेतको साथ छ ।

गत वर्ष भएको एमालेको प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विनोद ढकालको समर्थनमा रहेका नेता तथा कार्यकर्ताहरुलाई अहिले किनारा लगाउनेगरी मोरङमा गतिविधि भइरहेको आरोप लाग्दै आएको छ । त्यसको अगुवाई फिल्डमा उनै बस्नेतले गरिरहेका छन् । ढकाललाई साथ दिँदै आएका कार्यकर्ताहरु अहिले त्रसित् अवस्थामा छन् ।

बस्नेतले आफ्नो प्रभाव विस्तार गर्दै आफू निकटका सुरज श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर ६ को सचिव बनाएका छन् भने सन्तोषी श्रेष्ठलाई बुढीगंगा गाउँपालिकाको इन्चार्ज बनाएका छन् ।

बिहिबार, १० असोज, २०८१, बिहानको ०८:०० बजे

प्रतिक्रिया

  1. एकदिन पर्शुराम बस्नेत नेकपा एमालेकाे लागि काउछाे हुनेछ। जब पर्शुराम बस्नेत आफ्नाे याेग्यता र क्षमता बिर्सेर ठूलाे हैसियतकाे जिम्मेवारी माग्छन् र एमालेले नदिने निर्णय गर्छ, तब पर्शुरामकाे असलियत अगाडी आउने छ। सायद २०८४ मै जब उनले सांसदकाे टिकटमा दावा गर्नेछन् उनकाे यथार्थता अगाडी आउने छ। प्रतिक्षा गराैं

प्रतिक्रिया:

सम्बन्धित खवर