इहटरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले कार्यपालिका वैठक नराखेको भन्दै जनप्रतिनिधिहरुले बैठकको लागि परमादेश माग्दै अदालतमा रिट दिएका छन् ।
इटहरी नगरपालिकाका मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै उपमहानगर कार्यपालिकाका बहुमत जनप्रतिनिधिहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् ।
उपमहानगरपालिकाका १५ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक राख्न परामादेश माग्दै रिट निवेदन दर्ता गराएका हुन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए । इटहरी ३ का वडाअध्यक्ष उमेश सुवेदीले बिभिन्न ५ वटा ऐजेण्डामा छलफल गर्नका लागि कार्यपालिका वैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालत गएको बताए ।
चालु वर्षको निित तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न कार्यपालिका बैठक बस्नुपर्नेमा आर्थिक वर्ष सुरु भएको दुई महिना बित्न लागेको समयमा पनि नियमित बस्नुपर्ने बैठक नबोलाएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । इटहरी उपमहानगरपालिकासँग सम्बन्धित र सार्वजनिक चासो र सरोकारका विषयहरुमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहँदा नगर प्रमुखले व्यवस्था गर्दै भिडियो सन्देश जारी गरेर अत्मरतीमा रमाएको आरोप उनीहरुले लगाएका छन् ।
मेयर पौडेलले इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भूमिकालाई निस्तेज पार्ने गरी अगाडि बढेको भन्द उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा १७ को उपदफा (१) बमोजिम र कार्यपालिकाले स्वीकृत गरेको बैठक सञ्चालन आचार संहिता अनुसार बैठक राख्न भदौ ३० गतेसम्मको अल्टिमेटम दिएका थिए । तर, मेयर पौडेलले बैठक नराखेपछि उनीहरु अदालत गएका हुन् ।
कार्यपालिका सदस्यहरुले गत आर्थिक वर्ष सम्पन्न भएका योजनाहरुको भुक्तानी सम्बन्धमा, कर्मचारीहरुको तलब भत्ता भुक्तानी सम्बन्धमा, विद्युतीय बस खरिद तथा इटहरी अस्पतालको सि.टि. स्क्यान मेसिन खरिद सम्बन्धमा र आर्थिक वर्ष २०८०÷८१ को समिक्षा सम्बन्धमा छलफल गर्न कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । बैठक बोलाउन उपमहानगरका उपप्रमुख संगिताकुमारी चौधरीसहित वडाध्यक्षहरुले अदालतनमा निवेदन दिएका हुन् ।
निवेदन दिनेहरुमा २ का वडा अध्यक्ष माधव कोइराला, ३ का उमेश सुवेदी, ४ का भक्त लामा, ५ का भिष्म घिमिरे, ७ का अध्यक्ष देवनारायण चौधरी, ९ अध्यक्ष जितेन्द्र थापा, १० का अध्यक्ष अवधेश चौधरी, ११ का अध्यक्ष केशवप्रसाद कोइराला, १२ का अध्यक्ष भुवनराज पोखरेल र १४ का अध्यक्ष रमेश प्रसाद चौधरी छन् । यस्तै १५ का वडा अध्यक्ष जयनारायण चौधरी, १६ का अध्यक्ष तेजनारायण चौधरी, १७ का अध्यक्ष प्रभातकुमार आचार्य, १८ का अध्यक्ष रामकुमार चौधरी, १९ का अध्यक्ष श्रीनारायण चौधरी, कार्यपालिका सदस्यहरु मनबहादुर विश्वकर्मा, भिमादेवी राई र भिमाकुमारी तुम्बाहाम्फेले रिट निवेदन दिएका हुन् ।