पटका तस्करीमा बढोत्तरी

विराटनगर । चाडपर्व नजिकिदै जादाँ भारतीय समावर्ती क्षेत्रबाट नेपालमा प्रतिबन्धित पटका भित्रिन थालेको छ । दिपावली र तिहारमा पड्काउने पटका दसैं अगावै भारतबाट नेपालमा तस्करी गरी भित्र्याउन थालेको हो । शनिबार मात्रै झण्डै ४ लाख बराबरको पटका सशस्त्र प्रहरीले बरामद गरेपछि पटका तस्करीको रहस्य बाहिर आएको हो ।

झापा, मोरङ र सुनसरीका सीमा क्षेत्रबाट यतिबेला ठूलो परिमाणमा पटका भित्रिरहेको पछिल्लो बरामदी अवस्थाले स्पष्ट गरेको छ ।सशस्त्र प्रहरीले मोरङबाट झन्डै ४ लाख मूल्य बराबरको पटका बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको विभिन्न प्रकारका पटका शनिबार बिहान ७ बजेतिर सशस्त्रले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार भारतबाट ल्याउँदै गरेको पटका रंगेली नगरपालिका–६ बाट बरामद गरिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागबाट खटिएको डीएसपी विश्वनाथ जीसी नेतृत्वको टोलीले पटका नियन्त्रणमा लिएको हो । भारतबाट तीन जना व्यक्तिले टाउकोमा बोकेर पटका ल्याउँदै गर्दा सशस्त्रले फेला पारेको थियो । एसपी खड्काले सशस्त्रलाई देख्नसाथ पटका छाडेर उनीहरू फरार भएको जानकारी दिए ।

बरामद गरिएको पटका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ । पटका नियन्त्रणमा लिन र भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको एसपी खड्काले बताए । खड्काले पटका ओसारपसार लगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी लगायतका निकायसँगसमेत समन्वय भइरहेको उल्लेख गरे ।

त्यसैगरी सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको थियो । सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा पटका बरामद गरेको थियो ।
सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले बताए । पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा पटका लगायतका अन्य वस्तुहरूको अवैध तस्करीमा वृद्धि भएको छ ।

आइतबार, ०६ असोज, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर