जुवाखालबाट पक्राउ परेका एमाले नेता माझी धरौटीमा रिहा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरेका माझीसहित ९ जना जुवाडेलाई शुक्रबार जनही ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
तोकेको धरौटी रकम बुझाएर माझीसहित सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुवर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रिहा भएको मोरङ प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले माझीसहित पक्राउ परेका ९ जना र ६ जनालाई फरार प्रतिवादी बनाएर जुवा ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर भएको थियो । पक्राउ परेको एक हप्तापछि प्रहरीले अभियोग प्रशासनमा बुझाएको हो ।
गत शनिबार ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधरमा जुवाको अखडा भत्काएर जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जुवा खालबाट नामुद जुवाडे उर्लाबारीका अर्जुन तुम्रुक फरार भएका थिए । प्रहरीले तुमु्रकसहित ६ जनालाई फरार प्रतिवादी बनाएको हो ।
ग्रामथान ४ कटहरास्थित जुवाखाललाई ‘बाह्रमासे’ भन्ने गरिएको छ । यहाँ जुवा खेल्न मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबीलगायतका स्थानमा घर भएकाहरु आउने गरेको प्रहरीले जनाएको छ । लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

शनिबार, ०५ असोज, २०८१, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर