विराटनगर । प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाएको भन्दै असन्तुष्टि जनाएपछि गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास खारेज गर्दै लकडाउन कडा गर्न निर्देशन जारी गरेको भएपनि त्यसको पालना भएको छैन ।
विराटनगरमा बिहानैदेखि अनियन्त्रितरुपमा सवारी साधन चलेको छन् । पास भएका साधन मात्र हैन सिटी सफारी र अटो टेम्पो पनि चल्न थालेका छन् । जसले यात्रुहरुलाई एकठाउँबाट अर्को ठाउँमा लैजाने काम गर्दै आएका छन् ।
लकडाउन खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले अघिल्लो सातादेखि निर्माण सामग्री ढुवानी गर्न सयौं ट्रिपर, ट्रयाक्टर, ट्रक आदि सञ्चालन अनुमति दिएको थियो । जिल्ला प्रशासन कार्यालयले ५ सय भन्दा बढी त्यस्ता सवारी साधन चलाउन पास जारी गरेको थियो । सरकारले ति सबै पास रद्द गरेको भएपनि सडकमा त्यस्ता सवारी साधन निर्वाच चल्नुले जोखिम बढाएको छ ।
सडकमा ट्रिपर, नेपाल आयल निगममा इन्धन ढुवानी गर्ने ट्याङ्कर, अटो रिक्सा, सफारी, सयौंको संख्यामा मोटरसाइकल , अत्यावश्यक सामान ढुवानीका नाममा सयौं ट्रक, मिनीट्रक, सरकारी कर्मचारीका सवारी साधनहरु सबै चलेका छन् भने सडकमा मानिसहरुको आवतजावतमा पनि कुनै कमी आएको छैन ।
पछिल्लो समय प्रदेश २, प्रदेश ५ र प्रदेश १ मा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । यी तीनवटै प्रदेश भारतसँग सीमा जोडिएका र उच्च जोखिममा परेका प्रदेशहरु हुन् । जिल्ला प्रशासन कार्यालय मोरङ त्यस तर्फ भने आवश्यकता भन्दा धेरै उदार भएको पाइएको छ । जसले गर्दा प्रधानमन्त्रीले लकडाउन कडा बनाउन चेतावनी दिएपनि त्यसलाई पालना नगरी उल्लंघन गर्न उद्यत देखिएको छ ।