कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन आजबाट अन्त्य भएको छ ।

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्‌गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

शुक्रबार प्रदेश सभाको अधिवेशनको २१ औं बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका छन् । शुक्रबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको हो ।

गत वैशाख ३१ गते सुरु भएको प्रदेशको बजेट अधिवेशनको पहिलो दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए भने अधिवेशन अन्त्य हुने अघिल्लो बैठकमा पुनः विश्वासको मत लिएका छन् । यो अधिवेशनले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

यो अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन बिधेयक, केहि प्रदेश ऐन संशोधनलाई जगाउने बिधेयक, कृषि अनुदान सम्बन्धि व्यवस्थापन गर्न बनेको बिधेयक संशोधन बिधेयकलगायतका ऐन पारित गरेको छ ।

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०३:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर