विराटनगर । पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य केदार कार्कीले बालबालिकाको उपचार, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा आदि माग राखेर गरेको अनसनप्रति सदनमा प्रश्न उठेको भन्दै छानविन गर्न माग गरेका छन् ।
प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै पूर्वमुख्यमन्त्री कार्कीले भने ‘मेरो अनसनको विषयमा यो सदनमा चिन्तन मनन् भएको छ । अनसन बसेको कुरामा छानविन र कारवाही गर्नुपर्छ भनियो । म पनि त्यो छानविन होस् र कारवाही होस् भन्न चाहन्छु ।’
नेता कार्कीले पछिल्लो जनगणनाअनुसार नेपालमा ४ वर्षभन्दा मुनिका बालबालिकाको संख्या न्यून हुँदै गएको तथ्यांक रहेको बताए । त्यही भएर केही समय अघि प्रधानमन्त्री केपि शर्मा ओलीले छिटो विवाह गर्न र छिटोछिटो बच्चा जन्माउन आग्रह गर्नुभएको भन्दै त्यस कुरामा सत्यता रहेको दाबी गरे । तर प्रदेश सरकारले बच्चा जन्माउनका लागि प्रोत्साहन नगरेको भन्दै बच्चा जन्माउन प्रोत्साहित हुने कुनै कार्यक्रम नरहेको टिप्पणी गरेका छन् । उनले भने ‘सग्लो बालबालिका जन्माउन सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिएको सुविधा हामीले कटौती गरेका छौं, बालबालिको उपचारका लागि दिएको सुविधा काटेर हामीले प्रोत्साहन गरेका छैनौं अनि किन जन्माउँछन् बच्चा ? हामीले त्यसका लागि प्रोत्साहन नै गर्न चाहेनौं ।’
पूर्वमुख्यमन्त्री कार्कीले संसदमा बोलेको विषय तथ्यसंगत हुनुपर्ने अन्यथा तथ्यहीन भाषण मात्र गरेर जानुपर्ने अवस्था आउने भन्दै संसद जनताप्रति समर्पित हुनुर्ने र सरकारले त्यसमा ख्याल गर्नुपर्ने बताए ।