कोशीमा भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश सरकारले भब्य रुपमा १० औं संविधान दिवस मनाएको छ । प्रदेश सरकारले बिहीबार भव्य समारोहको आयोजना गरेर संविधान दिवस मनाएको हो । दिवसको अवसरमा आदर्श विद्यालयमा आयोजित कार्यक्रम र त्यसअघिको प्रभातफेरिमा हजारौं सहभागी भए ।

सहिद मैदान अगाडिबाट सुरू भएको प्रभातफेरि अस्पताल चोक, जलजला चोक, मेन रोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो । प्रभातफेरिमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थ अधिकारीहरु, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रभातफेरिमा विभिन्न १५ वटा जातजातिका झाँकी पनि प्रदर्शन गरिएको थियो । प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आथित्यमा भएको समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । यस्तै उत्कृष्ट झाँकीलाई पनि पुरस्कृत गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैखाले विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको बताए । प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको भन्दै उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व पुरा गर्न क्रियाशिल रहेको दावी गरे ।

सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर कार्यान्वयन गर्न सकिए विश्वकै उत्कृष्ट संविधान बन्नसक्ने दावी गरे । प्रदेश सरकारलाई देख्ने र सुन्न सक्ने बनाउन आफूहरू लागिपरेको बताउँदै उनले संविधानको मर्म र भावनामा केन्द्रित भएर संविधान कार्यान्वयन गर्न राजनैतिक दलहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

‘नेपाली जनताको संघर्ष र बलिदानको माध्यमबाट बनेको यो नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रणलाई संस्थागत गर्नका लागि संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता हो ।’ कतिपय सन्दर्भमा संविधानका केही विषयमा प्रश्नहरु उठ्ने गरेका चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यस्ता विषयहरु आम सहमति, सहकार्य र एकताको माध्यमबाट संविधानको मूलमर्मलाई जोगाएर टुंग्याउनु पर्ने धारणा राखे ।

संघीयता कार्यान्वयनको महत्वपूर्ण अंग भनेकै प्रदेश भएपनि माथिल्लो अधिकार प्राप्त नहुँदा समस्या भोग्दै आउनु परेको मुख्यमन्त्री कार्कीले बताएका छन् । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएकोले त्यसतर्फ सरकारले काम गर्ने उनको प्रतिबद्धता छ ।

समारोहमा सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मालगायतका उच्चपदस्थहरू उपस्थित थिए ।

बिहिबार, ०३ असोज, २०८१, दिउँसोको १२:१९ बजे

प्रतिक्रिया

  1. नमस्कार
    उक्त समारोहमा निबन्ध लेखनको प्रथम स्थानको पुरस्कार वितरणको फोटो भए पाउन सकिन्छा हजुर? हाम्रो विद्यार्थीले प्रथम स्थान हासिल गर्नु भएको थियो।
    निलम कुमार श्रेष्ठ
    प्रिन्सिपल
    बिष्णु मेमोरियल माध्यमिक विद्यालय, धरान
    ९८४२०५५१९६

प्रतिक्रिया:

सम्बन्धित खवर