काठमाडौं । आज विहान ११ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।
बैठक बस्ने अन्तिम समयमा आएर स्वास्थ्य सुरक्षालगायतका कारण भन्दै बैठक स्थगित गरिएको हो ।
देशका विभिन्न स्थानबाट स्थायी कमिटी सदस्यहरु आउने भएको र उनीहरुको स्वास्थ्य परिक्षण नगरिएको तथा काठमाडौंमा पनि कोरोना देखिएकोले बैठक स्थगित गरिएको हो । स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट, सरकारले चालेको कोरोना विरुद्धको अभियानको समिक्षा र भारतीय अतिक्रमणकारी नीति विरुद्ध प्रस्ताव पारित गर्ने तयारी गरिएकोे थियो ।
स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएपछि नेताहरु बैठक स्थगित गर्ने निर्णयमा पुगेको बताइएको छ । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
अध्ययादेश प्रकरणपछि २० जना स्थायी समिति सदस्यले लिखित रुपमा बैठक माग गरेका थिए । प्रधानमन्त्री केपी ओलीले एकल ढंगले पार्टी र सरकार सञ्चालन गरेको भन्दै आलोचना बढेपछि यसअघि नै बैठक बस्ने निर्णय सचिबालयले गरेको थियो । तर, आफ्नो आलोचना हुने देखेपछि ओलीले बैठक स्थगित गनुृभएको थियो ।
पछिल्लो पटक अर्का अध्यक्ष प्रचण्ड र नेताहरुको जोडबलमा बैठक राख्ने सहमति भएपनि पुनः स्थगित भएको छ । अब अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो लागेको छैन ।