विराटनगर । विराटनगर मेनरोडको एउटा कपडा पसलमा बुधबार बिहान आगलागी भएको छ ।
विराटनगर–७ जैन भवन नजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल चलाउँदै आएका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ भने पसल सञ्चालन गरिएको सटरमा पनि क्षति पुगेको छ । आगलागीमा अन्दाजी एक करोड बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।