मनमोहनले कानुनको कक्षा सञ्चालन गर्ने

विराटनगर । थप नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सम्पन्न भएको छ ।

सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तर तहको कक्षा सञ्चालन गर्ने प्रस्तावसहित चालु आर्थिक वर्ष २०८०÷८१ का लागि बिनियोजित बजेट पारित गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले उद्घाटन गरेको चौथो सभा नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु परित गर्दै सम्पन्न भएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको गौरबको विश्वविद्यालय रहेकोले यसको विकास र स्तरोन्नतीमा सरकारले ध्यान दिने बताएका थिए ।

मुख्यमन्त्री कार्कीले एक वर्षभित्र मनमोहनलाई स्वास्थ्यतर्फका प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेगरि प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । विश्विद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले नेपालको पहिलो प्राविधिक विश्वविद्यालयलाई कोशी सरकारले गौरवका रुपमा लिएर भौतिक संरक्षण निर्माण र शैक्षिक कार्यक्रमहरु सञ्चालनमा चासो दिनुपर्नेमा जोड दिएका थिए । उनले मनोमहन आफ्नै पहिचान बोकेको मध्यमदेखि हाईस्केलका दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको भएको जानकारी गराउँदै इञ्जिनियरिङ, मेडिकल एण्ड एप्लाईड हेल्थ र साईन्स एण्ड टेक्नोलोजीको कक्षाहरु सफल रुपमा चलिरहेको बताए ।

विश्वविद्यालयले यसै वर्षदेखि अस्पताल व्यवस्थापनमा पठनपाठन गराउन विद्यार्थी भर्ना लिइसकेको छ । विभिन्न ल्यावहरु स्थापना गरेर सञ्चालनमा ल्याइसकेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले चाँडै मेडिसिन टेष्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना बनाएको छ ।
सभामा विश्वविद्यालय संरक्षण समिति सदस्य जीवन घिमिरेले प्रदेश सरकारले आफ्नो गौरबको योजना मानेर लगानी बढाएमा विश्वविद्यालयले अझै तीब्र रुपमा गति लिने बताए । सभा सदस्य मुकेश उपाध्यायले प्राकृतिक योग चिकित्साको पढाई सञ्चालन गर्न विश्वविद्यालयले बिशेष चासो दिनुपर्ने आग्रह गरे ।
सभामा रजिष्ट्रार डा.दिलनाथ फुँयालले विश्वविद्यालयले उत्पादित जनशक्त्तिलाई रोजगार दिलाउन अधिकृत नियुक्त गरिसकेको र चाँडै विभाग नै गठन गर्ने जानकारी दिए । उनले ईकाई गठन गरेर व्यवस्थित रुपमा ‘अर्न टु लर्न’ कार्यक्रम पनि सञ्चालन गर्न लागेको बताए ।

बुधबार, ०२ असोज, २०८१, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर