यस्ता छन् नेकपा स्थायी समिति बैठकका एजेण्डा

विराटनगर । केही समयदेखि अनिश्चित बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक केही घण्टापछि पार्टी कार्यालय धुम्बराहीमा बस्दै छ ।

सरकारले पार्टीसँग कुनै छलफल नगरी आकस्मिकरुपमा दुई अध्यादेश ल्याएको विषयमा छलफल गर्न २० जना स्थायी समिति सदस्यहरुले बैठकको माग गरेको भएपनि आज बुधबारको बैठकमा भने त्यस विषयमा छलफल नहुने भएको छ ।

बुधबारको बैठकका लागि तय भएको एजेण्डाको विषय अहिलेसम्म सार्वजनिक भएको छैन । तर सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको विषयमा छलफल गर्ने तयारी छ । त्यस्तै कोरोना महामारीसँग कसरी जुध्ने भन्ने विषय बैठकको अर्को एजेण्डाको रुपमा प्रस्तुत हुने छ । दुवै एजेण्डा दुई जना अध्यक्षहरुले मौखिक मनतव्य मार्फत बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

नेकपामा हटकेक बनेर उठेको अध्यादेश जारी गर्ने र फिर्ता लिने घटनाको विषयमा भने बजेटपछि बस्ने स्थायी समितिको बैठकमा छलफल हुने बताइएको छ । तात्काल महत्वपूर्ण मानिएको एजेण्डामा छलफल गरेपछि बैठक केही समयका लागि स्थगित गर्ने र त्यसलाई बजेटपछि सुचारु गर्ने गरी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कन्भिन्स गर्नुभएपछि बैठक सम्भव भएको हो । अध्यक्ष प्रचण्डले विवादित विषयलाई यहि बैठकमा एजेण्डा बनन नदिने जिम्मा लिएपछि प्रधानमन्त्री बैठक बोलाउन तयार हुनुभएको विभिन्न सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

बैठकमा एजेण्डाको रुपमा अध्यादेश ल्याउनुको कारण, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, पार्टी विधान उल्लंघन भएको जस्ता विषय समावेश नभएपनि सदस्यहरुले ति विषय छलफलका क्रममा उठाउने र बजेट पछिको बैठकमा त्यसलाई एजेण्डाकै रुपमा अघि बढाउने तयारी गरेका छन् ।

बुधबार, ३१ बैशाख, २०७७, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर