एमालेबाट निर्वाचित वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर । नेकपा एमालेबाट निर्वाचित मोरङको रतुवामाई नगरपालिका ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।

नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लुईटेलमाथि थियो । विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको छ । यस्तै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको विषेश अदालतले जनाएको छ ।

वडाध्यक्ष लुइँटेलले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।

सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी, सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेकोले आवश्यक छानविन गर्न उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारको अनुसन्धानमा सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्ष लुईटेलको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरी÷गराई सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको खुलेको थियो । यस्तै उनले आफ्नै श्रीमतीको सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्राप्त गर्ने उमेर नपुगेको अवस्थामा नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरको खुलेको थियो ।

अख्तियारले ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्न पेश भएको अनुसूचीको विवरण यकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण माग तथा रुजु समेत नगरी जन्ममिति फरक पारेर प्रतिलिपि नागरिकता जारी गरेकोले कर्मचारीलाई पनि कार्वाहीको माग गरेको थियो । तत्कालीन वडासचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेकोमा उनीहरुले सफाइ पाएका छन् ।

त्यसैगरी रतुवामाई नगरपालिका वडा नं. ६ का एमाले कार्यकर्ता मेघदीप पोखरेल पनि सोही मुद्दामा दोषी ठहर भएका छन् । उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम प्रविष्ट गराएको विशेष अदालतको ठहर छ ।

अख्तियारका अनुसार मेघदीप पोखरेल स्वंयले नाम दर्ताका लागि अनुसूची– ३ (क) अनुसारको दरखास्त भरी रतुवामाई नगरपालिका वडा नं.६ को कार्यालयमा पेश गरेका थिए । वडाध्यक्ष लुइँटेलले निवेदन उपर छानबिन नै नगरी २०७५ साल भदौ १२ गते तुलसादेवीको नाम लाभग्राही सूचीमा प्रविष्ट गराई १ लाख ४४ हजार रुपैयाँ दिलाएका थिए ।

श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, मेघदीप पोख्रेल र तुलसादेवीको विरुद्ध पनि अभियोग पेश गरेको थियो ।

सोमबार, ३१ भदौ, २०८१, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर