विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की छुटेलगत्तै पुनः अनशनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनको ३ बजेदेखि कोशी प्रदेशसभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै आजै दिउँसो ४ बजेदेखि साेही ठाउँमा आमरण अनशनमा बसेका थिए ।
तर, प्रहरीले नियन्त्रणमा लिएर बुढीगंगा २ टंकिसिनुवारीकाे कार्कीकै घरमा छाेडेकाे थियाे । साँझ ८ बजेतिर नियन्त्रणमा लिएका कार्कीलाई घर पुर्याए पनि उनी पुनः अनशन बस्न देवकाेटाचाेक आईपुगेका थिए । देवकाेटा चाेक पहिले अनसन बसेकाे स्थानबाट करिव ५० मिटर उत्तर हाे । पुनः अनशन बसेपछि उनले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लाजेहाङकाे हत्यारा भएकाे संगीन आराेप लगाए । उनले आफ्नो शान्तिपूर्ण कार्यक्रममा बिना कारण हस्तक्षेप गरेकाे भन्दै आक्राेश व्यक्त गरे ।
अहिले पनि उनी अनशन बसेकाे स्थानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । यसअघि पनि समर्थक हरूकाे उपस्थितिकैबीच कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच झडपसमेत भएको छ ।
माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका थिए भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको थियो ।