अदालतको फैसला अवज्ञा गर्दै क्षयरोग संस्था, आफूलाई मासिक भाडा नदिएको झोँकमा फार्मेशीमा ताल्चा

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङ अदालतले गरेको फैसलालाई चुनौति दिएर काम गरिरहेको पाइएको छ । उच्च अदालत विराटनगरले तीन वर्ष अगाडि गरेको फैसलालाई चुनौति दिनेगरी संस्थाले कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको हो ।

संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवासियक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै त्यहाँ रहेको फार्मेशीमा तालाबन्दी गरिदिएको छ । अस्पतालको स्वामित्वमा रहेको सटरको मासिक भाडा कोशी अस्पताललाई बुझाएको भन्दै संस्थाले विराटनगर–७ हस्पिटल चोकमा रहेको प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेशी’ मा भदौ १९ गते ताल्चा लगाइदिएको हो ।

क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालकोे स्वामित्वमा रहेको फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो ।

अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा.रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेशीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन भदौ २ गते पत्रचार गरेका थिए । अस्पतालले हेमन्तकुमार श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ खाजा घर, फिरदोस अन्सारीले सञ्चालन गरेको मदिना होटेल खाजा घर, घनश्याम अधिकारीले सञ्चालन गरेको पशुपति किराना पसल, स्मृति देवले सञ्चालन गरेको पूर्वाञ्चल बायो मेडिकल सोलुसन, पार्वती ताजपुरियाले सञ्चालन गरेको खुश्बु खाजा घर, रहिम साँफीले सञ्चालन गरेको सहिम मोटर साइकल र घनश्याम अधिकारीले सञ्चालन गरेको न्यू बावा होटललाई सटर भाडा बापत बुझाउन पत्रचार गरेको थियो ।

प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेशले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेशीमा ताल्चा लगाइदिएको सञ्चालक मुखियाले बताए ।

उनले विगत आठ वर्षदेखि हस्पिटल चोकमा फार्मेशी सञ्चालन गर्दै आएका छन् । ‘कोशी अस्पतालले मुद्दा जितेपछि भाडा बुझाउन पत्रचार गरेको थियो । त्यसपछि साउन महिनादेखि भाडा अस्पतालमा बुझायौं’ उनले भने, ‘यता क्षयरोगले किन अस्पतालमा भाडा बुझाएको भन्दै कर्मचारी लगाएर पसलको सटरमा ताल्चा लगाइदिएको छ ।’ सटरमा ताला लगाएकोबारे अस्पताललाई जानकारी दिएको भएपनि निकास नभएको उनले बताए ।

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले दुई संस्थाबीचका विवादलाई लिएर यसरी फार्मेशमै तालाबन्दी गर्नु राम्रो नभएको बताए । ‘छलफलको माध्यमबाट निकास निकाल्नुपर्ने थियो । विरामीलाई अतिआवश्यक पर्ने औषधी विक्री वितरण हुने फार्मेशीमा ताल्चा लगाउनु यो गलत हो,’ उनले भने, ‘लगाएको ताल्चा तत्काल खुल्नुपर्छ । नभए व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
अस्पपतालका मेसु डा. रविराज सिंहले अदालतले फैसला गरेर कोशीको स्वामित्वमा रहेको सटर भाडा उठाउनु अस्पताल प्रशासनको दायित्व रहेको बताए । अहिलेसम्म एउटा सटरको मात्रै भाडा उठेको उनले जानकारी दिए । ‘अरु सटरलाई पनि हामीले पत्रचार गरेका छौं । अस्पतालको स्वामित्वमा रहेको सबै सटरको भाडा अस्पतालले उठाउँछ,’ उनले भने ।

क्षयरोगले भाडावापत मासिक १२ देखि २० हजारसम्म रुपैयाँसम्म लिने गरेको छ । अस्पतालको जग्गामा संरचना बनाएर भाडा लगाएवापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रूपैयाँभन्दा बढी उठाइरहेको छ ।

कोशी अस्पतलाको जग्गा कब्जा

कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई पटक–पटक हट्न भनेर पत्राचार गर्दा समेत जग्गा खाली भएको छैन । महेश भट्टराई कोशी अस्पताल विकास समिति अध्यक्ष रहेको बेला पटक–पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक पहुँचको आडमा कब्जा गरिराखेको विकास समितिका तत्कालिन सदस्य मुकेश बुढाथोकीले बताए ।

राजनीतिक आडभरोसामा विभिन्न संघसंस्थाले सरकारी अस्पतालको जग्गामा भवन र संरचना बनाएर व्यापार गर्दै आएका छन् । संघसंस्थाले भाडामा लगाएको भवनको रकम व्यक्तिगत रुपमा समेत उपयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा रहेको छ । उक्त जग्गामध्ये विभिन्न संघसंस्थाले १५ कट्ठाभन्दा बढी जग्गा कब्जा गरेका छन् । अस्पतालको जग्गा क्षयरोग निवारण संस्था, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालयलगायतले कब्जा गरेका छन् ।

जग्गामा बनाएको संरचनाबाट उठ्ने भाडासमेत ती संस्थाहरुले नै प्रयोग गर्दै आएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको जग्गा ओगटेर बनाइएका तीनवटा भवन भने यसअघि नै भत्काइएको थियो । अस्पताल प्रशासनका अनुसार गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले अढाई कट्ठा, नेपाल रेडक्रस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगटेका छन् । जग्गामा संरचना बनाएर ३० जनालाई भाडामा लगाइएको छ ।

गणेश मन्दिरले संरचना बनाएर गणपति पत्रपत्रिका पसल (रमेशप्रसाद लुइँटेल) र उज्ज्वल फर्मा (अरुण ठाकुर)लाई भाडामा लगाएको छ । यस्तै कलश फर्मा, बालबालिका क्लिनिक, किसान जनरल स्टोर (बब्लु साह) र श्रुति फार्मेसी (सूर्यनारायण कामत)लाई भाडामा लगाएको छ । आफैंले पनि जग्गा प्रयोग गरिरहेको मन्दिरले भाडावापत मासिक एक लाख ६० हजार रूपैयाँभन्दा बढी उठाइरहेको छ ।

देवकोटा पुस्तकालयले पान पसल (बलराम सरदार), देवकोटा होटल (लक्ष्मण कार्की), सुपर संगीत आर्ट (अवधनारायण राजवंशी), मःम पसल (सचिन श्रेष्ठ), देवकोटा हेयर कटिङ शैलुन (महानन्द ठाकुर), किराना पसल (निरज घिमिरे), ए–वन हेयर कटिङ शैलुन (राकेश ठाकुर), भट्टराई पान पसल (ज्योति भट्टराई), शक्तिमाता हार्डवेयर (निश्चल अर्याल), खिलेश्वर ट्रेड सप्लायर्सलगायतलाई भाडामा लगाएको छ ।

त्यस्तै रेडक्रसले संरचना बनाएर वाणिज्य बैंकदेखि मेडिकल हल, फोटो स्टुडियो र किराना पसललाई भाडामा लगाएको छ । उसले भाडावापत मासिक डेढ लाख हाराहारी उठाउने गरेको छ । रेडक्रसको भवन नै अस्पतालकै जग्गामा छ ।

आइतबार, २३ भदौ, २०८१, बिहानको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर