पाँच वर्षमा मोरङमा विपद्का कारण ४९९ जनाले गुमाए ज्यान

विराटनगर । विगत पाँच वर्षको अवधिमा विपदका कारण मोरङमा झण्डै ५ सय जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ९अद्यावधिक २०८१० विवरणमा यस अवधिमा ४९९ जनाको ज्यान गएको विवरण उल्लेख छ ।

विवरण अनुसार सबैभन्दा बढी विराटनगरमा १४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै उर्लाबारीमा ११५ जनाले, कानेपोखरीमा ७३ जनाले ज्यान गुमाएका छन् । पथरीशनिश्चरेमा ४४, रंगेलीमा ४७, धनपालथानमा २१, कटहरीमा १६, सुन्दरहरैंचामा ५, सुनवर्षीमा ३, बुढीगंगामा ३, मिक्लाजुङमा र ग्रामथानमा २–२ जनाको ज्यान गएको तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय तहले दिएको सूचनाको आधारमा राखिएको विवरणमा केराबारी गाउँपालिका, लेटाङ र बेलबारीमा भने विपदबाट कुनै दुर्घटनामा परी मानिसको ज्यान नगएको उल्लेख छ । यस्तै विपद्मा परी विगत पाँच वर्षमा २ हजार १८६ जना घाइते भएका छन् ।मोरङमा सबैभन्दा बढी सडक दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ । तथ्याङ्क अनुसार सडक दुर्घटनामा पाँच वर्षमा २३० जनाको र महामारीबाट १४८ जनाको मृत्यु भएको छ ।

यस्तै बाढीमा परी ५७ जना, आगलागीबाट २१ जना, वन्यजन्तुको आक्रमणबाट २४ जना, हुरी, बतास र असिनाबाट २ जना, चट्याङबाट १७ जनाले ज्यान गुमाएका छन् । तथ्याङ्का अनुसार बाढीका कारण २४३ जना घाइते हुँदा सवारी दुर्घटनामा परी १ हजार १७९ जना घाइते भएका छन् ।

२०८१ सालमा मोरङका ६ हजार ४ सय घरधुरीका २६ हजार ९५४ जनसंख्या प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षेपण गरेको छ । त्यसलाई आधार मानेर विपद जोखिम व्यवस्थापन गरिरहेको जिल्ला प्रशासन कार्यालय बताउँछ । यद्यपि प्रतिकार्य योजनाको प्रभावकारी कार्यानवयन गर्नदक्ष जनशक्ति तयार गर्नुपर्ने, योजना कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्र, संयुक्त राष्ट्र संघका निकायहरुले वार्षिक योजना बनाउँदा यसमा रहेका पक्षलाई समेटेर बजेट छुट्याउनु पर्ने आवश्यकता औंल्याइएको छ ।

१० वर्षमा कति क्षति ?

विगत १० वर्षमा भने मोरङमा बाढी तथा डुबानबाट १२ हजार ५४८ घर क्षति हुँदा ४४ जना मानिसको मृत्यु भएको छ । यस्तै ६ जना घाइते भएका छन् । अनुमानित २२ करोड ६२ लाख ५१ हजार २९२ रुपैयाँको क्षति भएको छ ।

यस्तै आगलागीबाट १२ जनाको मृत्यु र १ हजार २१८ वटा घरमा क्षतिग्रस्त हुँदा ८६ करोड १६ लाख ५७ हजार ३५९ रुपैयाँको धनमाल नष्ट भएको छ ।

यस्तै चट्याङबाट ४२ जनाको मृत्यु हुँदा ११ लाख ७० हजार बराबरको धनमाल नष्ट भएको छ । हावाहुरीबाट ९ जना मानिसको ज्यान गएको छ भने २ करोड ७४ लाख २७ हजार पाँच सय बराबरको क्षति भएको जनाइएको छ । यस्तै हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु, १० जना घाइते हुनुको साथै ४४ लाख २३ हजार बराबरको धनमाल नष्ट भएको छ । कोभिड महामारीबाट मात्रै मोरङमा ५१० जनाको ज्यान गएको छ भने ३६ हजार ८७३ जना प्रभावित भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।

आइतबार, २३ भदौ, २०८१, बिहानको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर