आकासे पुलको योजना अलपत्र, महानगरको पाँच स्थानमा ट्राफिक लाइट राखिँदै

विराटनगर । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको काम सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले दुई महिनाभित्र ट्राफिक लाइट जडान गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।

महानगर क्षेत्रमा हुने दुर्घटना न्युनीकरण गर्न र सहज आवतजावतका लागि समस्या बन्दै गरेको ट्राफिक व्यवस्थापन सुधार गर्न महानगरले ती ठाउँहरुमा लाइट जडान गर्ने निर्णय गरी ठेक्का लगाएको थियो । त्यसअनुसार महानगरले अहिले तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गर्न लागेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । उनले महानगरले विभिन्न सात स्थानमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता पहिचान गरी गुरुयोजनामा समावेश गरेको भए पनि तत्काल पाँच ठाउँमा काम हुने बताए । अहिले निर्माणको जिम्मा पाएको कम्पनीले धमाधम काम गरिरहेको महानगरले जनाएको छ ।

महानगरले ७७ लाख रुपैयाँको लागतमा पाँच स्थानमा ट्राफिक लाइट जडानको ठेक्का दिएको हो अहिले ती सबै ठाउँमा खम्बा गाड्ने कार्य अगाडि बढेको छ । महानगरमा ट्राफिक लाइट जडान गर्ने ठेक्का ई–थ्री–यार्सा जेभी काठमाडौंले पाएको छ ।

ट्राफिक लाइट जडानको कार्य आगामी असोज मसान्तसम्म सकिने महानगरको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुनेछ । जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने मेयर कोइरालाले बताए । ‘बढ्दो जनघनत्वसँगै अत्यधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ,’ मेयर कोइरालाले भने, ‘विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न पहिलो चरणमा पाँच स्थानमा जडान सुरु भइसकेको छ ।’

ट्राफिक लाइट जडानपछि यसअघि महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या हट्ने महानगरको विश्वास छ । सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताए ।

बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा सडक पार गर्न आकासे पुलको योजना बनाएको महानगरले त्यसलाई स्थगित गरेर ट्राफिक लाइट जडान गर्ने योजना अगाडि सारेको हो । महानगरले आकासे पुल बनाउनका लागि लगाएको ठेक्का लगाइसकेको र मोविलाइजेसन रकम भुक्तानी दिइसकेको भए पनि साइड क्लियर नभएको बहानामा पुलको योजना अगाडि बढ्न सकेको छैन । महानगर आकासे पुलको योजना स्थगित गर्दै ट्राफिक लाइट नै सस्तो र प्रभावकारी हुने विश्वासमा छ ।

बुधबार, १९ भदौ, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर