भारतमा ‘लकडाउन’ खुकुलो भएसँगै नेपालमा चिन्ता

अबको परिणामप्रति सरकारहरू कति गम्भिर ?

भारत र तेस्रो मुलुकबाट आउनसक्ने मानिसहरुको संख्याको अनुमान आधारमा जिल्ला सदरमुकाम आसपासमा क्वारेन्टाइन निर्माण गर्न निर्देशन

विराटनगर । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले सोमबार आयोजित राज्य व्यवस्था समितिको बैठकमा भन्नुभयो, ‘भारतले रेल सञ्चालन गरे त्यसले नेपालमा उलटफेर नै ल्याइदिन्छ ।’

हाम्रोमतसँगको अन्तरवार्ताका क्रममा सोमबार नै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भन्नुभयो, ‘भोलीदेखिको अबको हाम्रो स्टाटेजी फरक हुनुपर्छ । अहिलेसम्मको स्टाटेजीले अब काम हुँदैन । भारतमा रेल तथा यातायात सेवा चालु हुनुभनेको हामी थेग्नै सक्दैनौं । हामीले त्यो प्रेसर थेग्न सक्नुपर्छ, अबको व्यवस्थापनको पाटो त्यता केन्द्रीत हुनुपर्छ ।’

हाम्रोमतसँगकै कुराकानीका क्रममा सोमबार नै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले भन्नुभयो, ‘भारतले रेल संचालन गर्दैछ भन्ने कुरा हामीलाई पनि सूचना छ, अब त्यसको व्यवस्थापनको लागि हामीले प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलाम केन्द्रीत क्वारेन्टाइन निर्माणलाई तीब्रता दिने विषयमा छलफल गरेर आवश्यक निर्देशन भएको छ ।’

संघीय सरकारका परराष्ट्रमन्त्री, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सामाजिक विकासमन्त्रीले व्यक्त गरेको यि धारणाले भारतले रेल तथा यातायात सेवा सुचारु गरेपछि धेरै सतर्क रहको अनुभूति गराउँछ । तर, बोली अनुसार प्रदेश तथा संघीय सरकारको तयारी चाहिं के छ भन्ने विषयमा यो समाचारमा तथ्यमा जान्ने प्रयास गरिएको छ ।

उता भारतको राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा आजदेखि सुरु भएको बताइएको छ । भारतीय संचारमाध्यामका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पु¥याउन लागि मात्रै ४ सय ५० भन्दा बढी रेल सन्चालन गरिएको छ ।

नेपाल संघीय सरकारको अनुमान अनुसार हाल दोस्रो वा तेस्रो मुलुकबाट तत्कालै नेपाल भित्रन चाहने नेपालीको संख्या लगभग ६ लाख छ । त्यसमध्ये भारतबाट मात्रै साढे २ लाख नेपाली स्वदेश फर्कन चाहिरहेको अनुमान छ ।

खुला सीमाका कारण अहिले पनि लुकिछिपी भारतबाट नेपालीहरु घर फर्किएका छन् र उनीहरुमै कोरोना संक्रमण पनि देखिएको छ । हिंजो एकैदिन २४ जनामा कोरोना भाइरस देखिएकामध्ये कपिलवस्तुमा भेटिएका १० संक्रमित लकडाउनकै वेला भारतबाट लुकिछिपी आएका थिए ।

जसका कारण पनि नेपालमा भारतबाट फर्किने नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने देखिन्छ । प्रदेश १ मा भने हालसम्म ५ हजार ८ सय ९२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ । यस्तै ४ सय ४९ बेडको आइसोलेसन र ४४ बेड आइसियु रहेको छ । हाल पनि ७ सय ४३ जना क्वारेन्टाइनमा छन् भने ६ जना आइसोलेसनमा छन् भने ८ हजार ९२ जना होम क्वारेन्टाइनमा छन् ।

भारतबाट प्रदेश १ मा फर्किनसक्ने नेपालीको संख्या लगभग १५ देखि २० हजारको अनुमान छ । सहज ढंगले आउन दिने हो भने प्रदेश १ मा सोही अनुपातमा तेस्रो मुलुकबाट पनि नेपालीहरु आउन सक्ने अनुमान गर्न सकिन्छ (नेपालमा झण्डै ६ लाख नेपाली भित्रन सक्ने संघीय सरकारको अनुमानको आधारमा, प्रदेशमा सबैभन्दा कम आउँदा) । यद्यपि यस विषयमा प्रदेश सरकारसँग हालसम्म कति मानिसहरु प्रदेश १ मा भारतबाट वा तेस्रो मुलुकबाट आउन चाहन्छन् भन्ने तथ्यांक अनुमान समेत गरेको छैन । अहिले पनि प्रदेश १ मा आउन चाहने ३ सय जति नेपालीलाई भारतले सिमा क्षेत्रमा क्वारेन्टाइनमा राखेको छ ।

‘भारतबाट आउने संख्या हाम्रो प्रदेशमा अलिक कमै पर्छ । पूर्वानुमान गरेर गत चैत महिनामै हामीले इलाम, झापा, मोरङ र सुनसरीमा १५ हजार व्यक्ति व्यवस्थापन गर्न सक्ने गरी क्वारेन्टाइन निर्माण सुरु गरेका छौं,’ प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले भन्नुभयो, ‘बाँकी ११ वटा जिल्लामा पनि भारत र तेस्रो मुलुकबाट आउनसक्ने मानिसहरुको संख्याहरुको अनुमानको आधारमा जिल्ला सदरमुकाम आसपासमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँच पुग्ने ठाउँमा क्वारेन्टाइन निर्माण गर्न हामीले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छौं ।’

खाडीमुलुकबाट पनि नेपालीहरु ल्याउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने देखिनसक्ने उहाँको अनुमान छ । ‘यदि भारतबाटै नेपालीहरु सीमामा उभिए भने ल्याएर व्यवस्थापन मिलाउने र सोही आधारमा टेष्ट गराउनका लागि, उदयपुर, इलाम र झापामा पनि ल्याब राख्नुपर्ने आवश्यकता बढ्न सक्छ,’ कार्कीले भन्नुभयो, ‘यकिन तथ्यांक र टेष्टको विषय सामाजिक विकासमन्त्रालयको हो, तर हाम्रो अनुमानमा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा मात्रै १० हजार टेष्ट गरेपछि मात्रै प्रदेश १ को स्टाटस क्लियर गर्न सकिन्छ ।’

यता, सामाजिक विकासमन्त्री जीवन घिमिरेले अब बोर्डर केन्द्रीत क्वारेन्टाइन निर्माण गर्ने र टेष्टको दायरा पनि बोर्डर केन्द्रीत नै गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताउनु भएको छ ।

‘अब बोर्डर केन्द्रीत क्वारेन्टाइन निर्माण गरौं, टेष्टको दायरा पनि बोर्डर केन्द्रीत गरौं भनेर सरसल्लाह भएको छ’, घिमिरेले भन्नुभयो, ‘अब समयसापेक्ष निर्णय गर्दै कोरोनाको पिछा गर्दै जानुपर्छ भन्नेमा हामी छौं ।’ प्रदेश १ बाट नेपालीहरु भारतको मणिपुर, आसाम, मुम्बइ, नयाँ दिल्ली, कोलकता, लगायतका क्षेत्रमा काम गर्न जाने गर्छन् ।

मन्त्री कार्कीका अनुसार झापा, मोरङ र सुनसरीमा ५/५ हजार र इलाममा २ हजार ५ सय बेड क्षमताको क्वारेन्टाइन निर्माण भइरहेको छ । तर, तथ्यांकमा हालसम्म ५ हजार ८ सय ९२ बेडको क्वारेन्टाइन बेड मात्रै निर्माण भएको छ । ३० देखि ४० हजारको हाराहारीमा नेपालीहरु आए भने प्रदेश १ मा त्यसको उचित व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने देखिन्छ । परीक्षण किटको अभावदेखि क्वारेन्टाइन बेडको अभावले विदेशबाट आएका नेपालीहरुको व्यवस्थापन सहज देखिँदैन ।

मन्त्री कार्कीको अनुमानलाई नै आधार मान्ने हो भने पनि १० हजार किट मात्रै होइन अबको ८/१० दिनभित्रमा कम्तीमा ४० हजार पिसिआर किटको व्यवस्थापन र २५ हजार बेडभन्दा बढी क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ । यसतर्फ प्रदेश सरकारले छिटोभन्दा छिटो स्थानीय सरकार र संघीय सरकारसँग समन्वय गरेर क्वारेन्टाइन बेड निर्माणमा तीब्रता दिनुपर्ने आवश्यकता देखिन्छ । होइन भने मन्त्रीहरुले भनेजस्तै अब आउने गम्भिर चुनौतिको सामना गर्न हामी असक्षम सावित हुनसक्छौं ।

मङ्गलबार, ३० बैशाख, २०७७, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर