विराटनगरबाट काठमाडौं लगिएको तस्करीको कपडा बरामद

विराटनगर । विराटनगरबाट तस्करी भएर गएको ठूलो परिमाणको कपडा राजश्व अनुसन्धान विभागले काठमाडौँ विमानस्थलबाट नियन्त्रणमा लिएको छ । विराटनगरबाट काठमाडौँ उडेको यति एयरलाइन्सबाट तस्करीको कपडा काठमाडौँ पुगेको थियो ।

आइतबार साँझ काठमाडौँ विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरण भइसकेपछि राजश्व अनुसन्धान विभागको टोलीले मोटो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । बरामद भएको कपडा विराटनगरका कारोबारी बब्लु अग्रवालको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।

लामो समयदेखि अग्रवालले यति एयरलाइन्सबाट तस्करीको कपडा काठमाडौँ पुर्‍याएर बिक्री गरिरहेका थिए । यो प्रकरणले यति एयरलाइन्सका कर्मचारीको कपडा तस्करीमा संलग्नता रहेको आशांका बढेको छ भने विमानस्थलका सुरक्षाकर्मीमाथि पनि प्रश्न उठेको छ ।

बरामद कपडाको पोकामा कुर्ता सुरुवाल रहेको बताइएको छ । एति एयरलाइन्सबाट कार्गो गरेर पठाइएको सामान १० वटा पोकामा प्याक गरिएको छ । बरामद सामानको बिलबिजक नभेटिएको राजश्व अनुसन्धानले जनाएको छ ।

अरुण बाबा होजियारीले शम्भु स्टोरको नाममा मूल्य अभिबृद्धि करसहित ५ लाख १३ हजार रुपैँयाको बिलबिजक जारी गरेर सामान पठाएको नेपाल प्रहरीको विराटनगर विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । तर, काठमाण्डौंमा राजस्व अनुसन्धानले भने कुनै बिल फेला नपरेको उल्लेख गरेको छ । होजियारीको बिलबिजक जारी भएपनि भन्सार महशुल बुझाएको कागजातलाई आधारमा राजस्व विभागले अनुसन्धान गर्नेछ ।

विराटनगरमा यति एयरको जहाजमा सामान लोड गर्न थालिएपछि भिडियोसहितको सुचना विभागमा पुगेको थियो । जोगबनी नाकाबाट भन्सार छलेर भित्र्याइएको कपडा विमानस्थलबाट काठमाडौं पठाइएको हो ।

विराटनगर विमानस्थलका वरिष्ठ प्रहरी सहायक निरीक्षक श्याम सुवेदीले बिलबिजक भएरै कार्गो बिल काटेर विमानस्थलमा सामान पुगेको बताए । उनले बिलबिजककै आधारमा सेक्युरिटी चेकजाँच गरिएको दावी गर्दै प्रक्रिया पुरा गरेपछि सामान पठाएको दावी गरेका छन् । भारतमा उत्पादन भएको सामान विराटनगरमा बनेको भनेर नक्कली भ्याट बिल बनाएको आशांका गरिएको छ ।

मोरङमा पछिल्लो समयमा सुरक्षा निकायकै मिलेमतो र संरक्षणमा तस्करी भइहरेको दावी सुरक्षा स्रोतले नै गर्दै आएको छ । तस्करीबारे सुरक्षा निकायबीच नै आरोप र प्रत्यारोपको अवस्था छ ।

सोमबार, १० भदौ, २०८१, दिउँसोको ०२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर