मानगढ खानेपानी विवाद : अदालतको आदेश विपरीत घिमिरेले गतिविधि गरेको आरोप

विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानी आयोजनाका अध्यक्ष रामबहादुर घिमिरेले अदालतको आदेश विपरीत कर्मचारी नियुक्ति गरेको भन्दै उपभोक्ताले विरोध गरेका छन् ।

विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा संचालित उक्त खानेपानी आयोजनामा गत जेठ १५ गते भएको निर्वाचनमा विवाद सिर्जना भएपछि अदालतले मतगणना नगर्न अन्तरिम आदेश दिँदै महत्वपूर्ण काम कारबाही नगर्न आदेश दिएको थियो । तर, उच्च अदालत विराटनगरको उक्त आदेश विपरीत घिमिरेले निर्वाचित अध्यक्षकै शैलीमा काम गरेको भन्दै केही उपभोक्ताले आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

उच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उपभोक्ताहरुले थाहा पाउने गरी विज्ञापनको माध्यमबाट आवश्यकता अनुसार दक्ष कर्मचारी नियुक्ति गर्नु पर्नेमा जालझेलको माध्यमबाट कर्मचारी भर्ना गर्ने गरेको उनीहरुको आरोप छ ।

यस्तै मुद्दाको फैसला नहुन्जेलको अवधिमा घिमिरेले आफ्नो गैर कानुनी गतिविधि दोहोरिएको पाइएमा आम उपभोक्ताहरुको भेला आह्वान गरी उक्त भेलाको निर्णय अनुसार अगाडि बढ्ने उनीहरुले चेतावनी पनि दिएका छन् ।

सोमबार, १० भदौ, २०८१, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर