विराटनगर । विराटनगर–४ औषधी व्यवस्था विभाग चोक (कोशी राजमार्ग)मा यादव ओझाले संचालन गरेको यादव किराना पसलबाट दुई हप्ताको बिचमा चार पटक दूधजन्य पदार्थ चोरी भयो । बिहान साढे ४ बजे पसल अगाडि दूध विकास संस्थान (डिडिसी) ले क्रेटमा दुध र दही ल्याएर सुरक्षित छोडेर जाने गर्दै आएको छ । बिहान सबेरै यादवको पसल अगाडि फलैँचामुखि सुरक्षित ढंगले राखेको दुध र दही चोरी गर्दै गरेको सिसि क्यामेराको भिडियोमा प्रष्टै देख्न सकिन्छ । बिहान ४ बजे काँधमा छाता भिरेर आएको एउटा चोरले दायाँबायाँ हेर्दै प्लाष्टिकको झोलामा धमाधम दहीदुध हाल्छन् र बाटो लाग्छन् । ती व्यक्ति बिहान मर्निङ वाक गर्न हिंडेका भलाद्मी झैं देखिन्छन् । चोरी गरेर उनी फटाफट पैदल हिंडेरै गएको भिडियोमा देखिन्छ । यादवको पसलबाट दुई साताबीचमा यसरी चौथो पटक चोरी भएको उनले सुनाए ।
ओझाको पसलबाट करिव १५० मिटर पश्चिममा रहेको रहेको शंकर कोइरालाको कम्पाउण्ड वालसहितको पक्कि घरमा काठको मजबुत खोरमा चारवटा खसी थिए । शनिबार राति खोरबाटै ठूला (झण्डै २५ किलो दरका) दुईवटा खसी चोरी भयो । झण्डै ५० हजार रुपैयाँ मूल्य पर्ने दुईवटा खसी चोरी भएको उनले कोइरालाले बताए । ‘दिनभरी घाँसपानी दिएर साँझमा खोरमा ताल्चा लगाएर राखेको खसी बिहान उठ्दा थिएन, साना पाठा चाहिं छोडेछ,’ उनले भने ।
कोइरालाको खसी चोर्नु भन्दा केही दिन अघि मात्र राजवंशी चोक नजिकै रहेको प्रदेश लेखा नियन्त्रण कार्यालय नजिकै रहेको एउटा घरबाट पनि दुई वटा खसी चोरी भएको थियो । खसी खोज्दै जाँदा बिहान विराटनगर ४ विमानस्थल नजिक इक्राही जाने बाटोमा खसी काटेर बेच्दै गरेको भेटियो । खसीधनीले टाउको हेरेर खसी चिनेपछि प्रहरीले खसी काट्दै गरेका व्यक्रिलाई पक्राउ ग¥यो तर उनले खसी चोरेको स्वीकार गरेनन् कसैसँग किनेको बताए । उनले खसीको १६ हजार दाम तिर्न तयार रहेको बताए पनि खसीधनीले दुइटै खसीको पूरा मोल चाहिने भन्दै त्यति रकम लिन मानेनन् र प्रहरीलाई मान्छे जिम्मा लगाएर उनी फर्किए । तर, प्रहरीले रंगेहात पक्राउ परेको चोरलाई कारवाहीसमेत नगरी त्यतिकै छोडिदिएको पीडितले बताए । ‘झण्डै ३० हजार पर्ने खसीको आधा दाम दिन्छु भनेपछि प्रहरीमै छोडेर फर्र्कें,’ उनले भने ‘प्रहरीले उसलाई त्यसै छाडेछ, अहिले त्यो चोर फेला परेको छै भागेछ ।’
नजिकै टोलमा भएको घटना थाहा पाएका कोइरालाले आफ्नो खसी चोरी भएको घटना प्रहरीमा उजुरी गरेनन् । प्रहरीमा उजुरी गर्न गाउँलेले आग्रह गर्दा पनि उनले उजुरी गर्न मानेनन् । उनले भने ‘पल्लो टोलमा चोरसहित खसी समाउँदा त प्रहरीले छाडिदिएछ मैले के विश्वासले उजुरी गर्नु, विश्वास भए पो उजुरी दिनु उल्टो दुःखमात्र हुन्छ ।’
यसै साता विराटनगर ४ स्थित ढाटमा एउटै टोलको तीन घरमा दिउँसै चोरी भयो । ती घरहरुमा पसेर चोरले ल्यापटप, मोवाइल आदि सामान चोरी गरेको उनीहरुले बताए । तर त्यो घटनाबारे पनि प्रहरी चौकी बरगाछी बेखवर झैं देखिएको छ । चौकीका इन्चार्जले भने ‘खै सबै कुरा थाहा छैन, उजुरी नआएपछि थाहा हुने कुरा पनि भएन तर ढाटको एउटा पसलबाट बियर चोरी भएका चैं हामीसँग उजुरी आएको छ ।’
यस्तै तीन दिनअघि विराटनगर ४ प्रगति टोलस्थित कुमार पोखरेलको घरमा दिउँसो १२ बजेतिर चोर पस्यो । घरको बरण्डामा ९३ वर्षे वृद्धा सुतिरहेकी थिइन् । घरमा नचिनेको मानिस आएपछि को हो भनेर सोध्दा आन्टीले पठाउनुभएको भन्दै चोर भित्र पसेछ । केही छिन्मै आमैकी बुहारी घरमा आइपुगेका कारण चोरी हुन पाएन, हल्ला गर्दागर्दै दुई जना चोर भाग्न सफल भए । त्यसको भोलिपल्ट औषधि व्यवस्था विभाग चोक नजिकै रहेको कदमगाछी स्थित लक्ष्मी चिया पसलमा राखेको एउटा साइकल चोरी भयो । उक्त साइकल चोरी गर्ने चोर भने प्रहरीले पक्राउ गरेको छ ।
अहिले विराटनगरमा दैनिकजसो श्रृङ्खलाबद्ध चोरीका घटना भइरहेका छन् । सामन्य दूध, दही, खसी बोकादेखि घर फोडेर धनमाल चोरी गर्नेसम्मको घटना बढेको स्थानीय बताउँछन् । दिनदहाडै लुटपाट र चोरीका घटना साउन महिनायता शृंखलाबद्ध रूपमै भइरहेको पाइएको छ ।
प्रहरीले सुरक्षामा ध्यान नदिँदा चोरीजन्य घटना बढेको यहाँका स्थानीय बताउँछन् । रात्रीकालीन गस्ती गर्ने भन्दै वरगाछीदेखि आयलनिगमसम्म प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिने गरी सिआरबी टोली परिचालन गरिएको छ । उक्त सिआरबी रातिभएपछि एयरपोर्ट एरियाको होटलमा मात्र केन्द्रित हुने भएकोले भित्री बस्तीहरुमा चोरीको घटना बढेको विराटनगर ४ का रामचन्द्र कोइरालाले बताए । ‘प्रहरीले पैदल गस्ती र गाडीमा पेट्रोलिङ गरिदिए चोरी नियन्त्रण हुनेथियो । अहिले स्थानीयहरुमा कतिबेला चोर पस्ने हो भन्ने त्रास बढेको छ । यसतर्फ प्रहरीको ध्यानै गएको छैन । गस्तीमा प्रहरी पुरै निस्क्रिय भयो । त्यही भएर अहिले चोरीको घटना बढेको छ,’ उनले भने ।
चोरी नियन्त्रणमा प्रहरी असफल भएपछि सुरक्षा व्यवस्था खस्किएको भन्दै आलोचना भइरहेको छ । मोरङमा प्रत्येक वर्ष चोरीको घटना बढदै गएको छ । गतवर्ष जति चोरी भएको थियो त्यो बराबर पछिल्लो तीन महिनामा चोरीका घटना भएको प्रहरीले नै जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा २१४ वटा चोरीको मुद्दा दर्ता भएको थियो । ०७९÷०८० मा त्यो बढेर २४६ चोरीका घटना भएको थियो । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनसम्ममा २८६ वटा चोरीको मुद्दा दर्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । चालु आर्थिक वर्षमा २८६ वटा चोरीको घटना दर्ता हुँदा यसमा संलग्न २७५ जनालाई पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए । चोरीको घटनामा लागुऔषध र कुलतमा लागेका व्यक्तिहरु बढि संलग्न हुने गरेको उनले बताए । चाडबाड नजिकिँदै जाँदा चोरी अझै बढ्न सक्ने भन्दै सतर्क सहन प्रहरीले सर्वसाधारणलाई आह्वान गरेको छ । ‘घरबाट कतै टाढा जाँदा छिमेकीलाई हेरिदिन अनुरोध गरे चोर पस्न पाउँदैनथ्यो,’ डिएसपी बस्नेतले भने, ‘आफूपनि सचेत भए चोरी नियन्त्रण गर्न सकिन्छ ।’