दमक । इलाका प्रहरी कार्यालय अनारमनीका झापा एक थुनुवा हत्कडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् ।
फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागूऔषध मुद्दामा भदौ २ गते बिर्तामोड बसपार्कबाट पक्राउ परेका थिए । उनको साथबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
उनीमाथि अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो । हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मंगलबार अपराह्न ४ बजेतिर बिर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
हत्कडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।