विराटनगर । भारतले नेपाली भू–भाग मिचेर बाटो निर्माण गरेको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको छ ।
विराटनगरको मेनरोडस्थिते गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थीहरुले भारतले नेपालको मिचेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा सचेतक सांसद सूयर्माराज राईले भारतको ठाडो हस्तक्षेप गरेको बताउँदै नेपाली भूमि फिर्ता गराउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । सरकारले कुटिनीतिको नोट मात्र पठाएर सरकारले लाचारी पन देखाएको उहाँको भनाइ छ ।
विरोधसभामा बोल्दै विमल संग्रौलाले भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएकोले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो । नेपाली भूमि मिचेर बाटो लग्नु हेपाहा प्रवृत्तिको चरम भएकाले नेपाल सरकारले कडा रूपमा प्रस्तुत भई मिचिएको आफ्नो भूमि फिर्ता गराउनु पर्ने नेपाली कांग्रेस विराटनगर महानगरसमितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने बताउनुभयो ।
भारतले नेपालमाथि गर्ने हेपाहा व्यवहारको पछिल्लो नमुना देखिएको नेपाल महिला संघकी मोरङ सचिव प्रमिला थापाले बताउनुभयो । सहभागीले लिपुलेक मिचिदा सरकार दह्रो रुपमा प्रस्तुत नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नांगिएको भन्दै आलोचना गरेका थिए ।