प्रदेश १ : पहिलेकै ठाउँमा प्रदेशसभा बैठक

'जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने छ, १३ गतेभित्र अधिवेशन आव्हान गर्ने विषयमा छलफल भइरहेको छ ।’

विराटनगर । प्रदेशसभा बैठक हल सानो भएपछि प्रदेश १ को बजेट अधिवेशनबारे अन्यौल सिर्जना भएको छ ।

हाल रहेको विराटनगरस्थित पुरानो जिल्ला समन्वय समितिको हलमा सामाजिक दुरी कायम गरेर प्रदेशसभा बैठक बस्न सक्ने अवस्था छैन । जसको कारण कसरी र काहाँ बैठक राख्ने भन्ने विषयमा संसद सचिवालय बिलखबन्धनमा छ ।

यसअघि कोरोना भाइरस संक्रणको जोखिमका कारण यसअघिको हिउँदे अधिवेशन छोटो समय मै स्थगन गरिएको थियो । तर आगामि असार एक गतेसम्ममा प्रदेशको बजेट ल्याइसक्ने पर्ने संबैधानिक व्यवस्थाका कारण बर्खे अधिवेशन तत्कालै आव्हान गर्नुपर्ने बाध्यता छ । जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने भएकाले १३ गते भित्र अधिवेशन आव्हान गरिने सभामुख प्रदिप भण्डारीले बताउनुभयो । ‘जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने छ,’ सभामुख भण्डारीले भन्नुभयो, ‘१३ गतेभित्र अधिवेशन आव्हान गर्ने विषयमा छलफल भइरहेको छ ।’

अहिले संचालनमा रहेको प्रदेशसभा हलमा सांसदको लागि ९२ कुर्सी छन् । यद्यपि त्यही पनि साँघुरो र अप्ठयारो भएको भन्दै पटक पटक सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रदेशसभा हलमा दर्शकका लागि र संचारकर्मीहरुको लागि थप ५० वटा सिट रहेका छन् ।

यसरी हेर्दा जम्मा १ सय ४२ कुर्सी हलभित्र छन् । संचारकर्मी र दर्शकलाई प्रवेश नदिने र डिजिटल स्क्रिनको व्यवस्थापन गर्दा पनि दुरी कायम हुने गरी सांसदलाई नै कुर्सी पुग्ने देखिँदैन ।

‘हालको बैठक कक्षमा रहेको दर्शकदीर्घा तथा सञ्चारकर्मी बस्ने कुर्सी हटाएर आधा सांसदहरुलाई बस्ने व्यवस्था गरिने र आधालाई सचिवालयको माथिल्लो तल्लाको हलमा डिजिटल स्क्रिन राखेर सहभागी गराइ बैठक संचालन गर्नेगरी तयारी भइरहेको छ,’ दुरी कायम गर्दा कुर्सी अपुग हुने बताउँदै सभामुख भण्डारीले भन्नुभयो, ‘ अन्यत्र बैठक गर्दापनि प्रदेशसभा सचिवालको प्रशासनिक समयन्त्र, सभामुख, उपसभामुख, मुख्यमन्त्री प्रमुख विपक्षी दलको नेता आदिको कार्यालय व्यवस्थापन लगायत समस्या देखिन्छ ।’

प्रदेश एकमा सभामुख बाहेक ९२ जना सांसद छन् । यसअघि प्रदेशसभा बैठक विराटनगर महानगरपालिकाको स्वामित्वको विरेन्द्र सभागृह, अतिथि सदन वा आरआरएनको भवनमध्ये कुनै एकमा गर्नेकी भन्ने विषयमा छलफल नभएको पनि होइन । तर, अहिले कोरोना माहामारीका कारण भइरहेको आर्थिक क्षति न्यूनीकरण गर्न खर्चमा मितव्ययीता देखाउनु पर्ने बेलामा अन्यत्र सार्दा झन् खर्च बढ्ने छ ।

त्यसमाथिअन्यत्र बैठक बस्ने व्यवस्था मिलाउन सचिवालयदेखि दलका कार्यालय व्यवस्थापन, हलको मर्मत सम्भाव, प्राविधिक पाटो मिलाउन तत्काल समस्या हुने देखिएका कारण पनि अहिलेकै हलमा संसद संचालन गर्ने तयारी भएको सभामुख भण्डारीको भनाइ छ ।

सोमबार, २९ बैशाख, २०७७, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर